समय बन्दुकको गोलीभन्दा
जनताको बोली
कति शक्तिशाली हुन्छ भनेर
थाहा पायौ होला
निरंकुश शासकहरू
रगतको मूल्य
कति अमूल्य हुन्छ भनेर
बल्ल थाहा पायौ होला
द्रव्य पिशाच शोषकहरू
अति गरेपछि
एक दिन अवश्य
खति हुन्छ भनेर
जान्यौ होला नि
अहंकारले अन्धा भएका
धृतराष्ट्र,दुर्योधन,दु:शासन र
शकुनीहरू जस्तै
कपुत सन्तान तिमीहरू
समय गतिशील हुन्छ
समय परिवर्तनशील हुन्छ
समय बलवान हुन्छ भनेर
कसरी बिर्सियौ
इतिहास पढ्नेहरू
इतिहास बुझ्नेहरू
र
इतिहास रच्नेहरू। – सुभाषचन्द्र पौडेल भीमफेदीया २७ भदौ २०८२
