– पुरुषोत्तम आचार्य
जब पिडाले छाती निचोर्छ
हिमालले तप्..तप्..
आँसु चुहाउँछ
जब ज्वरोले असह्य हुन्छ
हिमालले खलखल
पसिना काढ्छ
जब प्रसव बेथाले द्वार छिचोल्छ
हिमालले पवित्र रक्तधारा बगाउँछ
जब हिमालको आँसु
खहरे झैँ सुक्न खोज्छ
हिमालले पसिनाको खोली बगाउँछ
जब हिमालको पसिना
खोली झैँ हराउन खोज्छ
हिमालले रगतको नदी बगाउँछ
आँसु, पसिना र रगतमिश्रित हिमनदीमा
जब बतासले गीत भरिदिन्छ
नदीले लय भेट्टाउँछ
नदीले उत्साह भर्छ
नदीले गति समाउँछ
र, सागरमा समाहित हुने सङ्कल्प राख्छ
गतिशील नदीले सागर जन्माउँछ
तातिएर सागरले बादल जन्माउँछ
चिसिएर बादलले वर्षा जन्माउँछ
आँसु,पसिना र रगतमा
सृष्टिको सेोन्दर्य भेटिन्छ
नदी सृष्टिकर हुन्छ
सागर सृष्टिकर हुन्छ
बादल सृष्टिकर हुन्छ
वर्षा सृष्टिकर हुन्छ
सृ्ष्टि प्रियकर हुन्छ
सृष्टि सुन्दर हुन्छ
तर,
नदीमा जब
रसायनको बाढी मिसिन्छ
जहरको नहर मिसिन्छ
सागर दुषित हुन्छ
सागर विषाक्त हुन्छ
विषाक्त सागरमाथि
उडिरहेको बादल भयङ्कर हुन्छ
बादलमा जब
बहुराष्ट्रिय कम्पनीका कार्बनहरू मिसिन्छन्
बादल खतरनाक हुन्छ
खतरनाक बादल अम्लीय वर्षा जन्माउँछ
अम्लीय वर्षा प्राणघातक हुन्छ, जीवनाशक हुन्छ
अम्लीय वर्षा सख्त हानिकारक हुन्छ
यतिबेला
फेरि एकपटक
‘आन्द्रमहासागर’को आकास हुँदै
उड्दै आइरहेको बादल
‘हिन्दमहासागर’को किनार हुँदै
हुत्याइरहेको छाल
यतैतिर खसेखसे झैँ
यतैतिर पसेपसे झैँ
भैरहेको छ
के तपाईँले यसको महसुस गरिरहनुभएको छ ?
