– क्रिन्ची यादव
कुनै पनि सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक पक्षमा कुनै निश्चित समयमा परिवर्तनका लागि नागरिकले चालेका कदमलाई आन्दोलन भनिन्छ । नेपालमा हालै जेनजी (युवा पुस्ता) ले आन्दोलन गरेका छन् । देशको आमूल परिवर्तन हुनुपर्छ भनेर उनीहरूले यो आन्दोलन गरेका हुन् ।
जेनजी भन्नाले अहिलेको नयाँ पुस्तालाई बुझिन्छ । हाल १३ वर्षदेखि २८ वर्षसम्मका पुस्तालाई जेनजी भनेर चिनिन्छ ।
कुनै पनि देशमा जनताको अधिकार, स्वतन्त्रता र स्वाभिमानलाई सरकारले जब खोस्न खोज्छ तब आन्दोलन हुन्छ । अहिले जेनजीले गरेको आन्दोलन पनि यस्तै आन्दोलनको उदाहरण हो । श्रीलङ्का, बंगलादेश, इन्डोनेसियालगायतका देशमा जेनजीको आन्दोलनले नै सरकारहरु ढलेका छन् । र नयाँ सरकार गठन भएका छन् ।
नेपालमा पनि यस्तै भएको छ । नेपालमा जेनजी आन्दालनले सरकार परिवर्तन गरिदिएको छ ।
नेपालमा नागरिक अधिकार र आर्थिक तथा सामाजिकलगायतका क्षेत्रको परिवर्तनका लागि समयसमयमा आन्दोलनहरु हुँदै आएको । राणा शासन अन्त्य र पञ्चायती व्यवस्था अन्त्यका लागि साथै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पटकपटक आन्दोलन भए । ती सबै आन्दोलनमा युवाले महत्वपूर्ण र अग्रणी भूमिका निर्वाह गरेका थिए ।
अहिले पनि युवाले गरेको बलिदानीले सत्ता परिवर्तन भएको छ ।
अहिले सरकार भ्रष्टाचारमा संलग्न भएको, नागरिकले सरकारी कार्यालयका सेवासुविधा सहजढंगले पाउन नसकेको, सुशासनको अनभूति गर्न नसकेकोलगायतका मुद्दासहित आन्दोलन भएको थियो । राजनतिक दलहरू आफ्नो स्वार्थ पूरा गर्न मात्र लागिपरेको भन्दै युवा आन्दोलनमा उत्रिएका हुन् । युवा बेरोजगार भएको, सरकारी निकाय भ्रष्टाचारको अखडा बनेको, आर्थिक सामाजिक र राजीनीतिक विभेद गरिएको भन्दै युवा आक्रोशित भएका हुन् । यसकै कारण भदौ २३ र २४ गते आन्दोलन भयो । अझ त्यसमा सामाजिक सञ्जाल बन्द गरिदिएर सरकारले युवाको आक्रोश र असन्तुष्टिमा आगोमा घिउ थप्ने काम ग¥यो ।
आफ्नो घरपरिवारको त परै जाओस् आफ्नै ज्यानको समेत परवाह नगरी युवा काठमाडौँमा आन्दोलनमा सहभागी भए । काठमाडौँलाई युद्धको भूमि बनाइदिए । र आफ्नै छातीमा गोली खाएर पनि आफ्नो आन्दोलनलाई रोकेनन् । देशभर आन्दोलन फैलियो । कयौँ युवाले ज्यानको बलिदानी दिएँ । अन्त्यमा नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलको संयुक्त सरकारले राजीनामा गर्न बाध्य भयो र सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ ।
यो सरकार चुनावी सरकारको हो, सकेसम्म सबै पक्षलाई समेटेर बनाउनु पर्छ, आन्दोलन र युवा पुस्ताको भावनालाई आत्मसात् गर्दै काम गर्नु यसको प्राथमिकता र पहिलो दायित्व हो । जेनजी पुस्ताको माग अनुसार प्रत्यक्ष कार्यकारी प्रमुख चुन्ने निर्वाचन प्रणाली ल्याउनुपर्छ । तोकिएको समयमा निर्वाचन गरी संसद हस्तान्तरण गर्न सबैपक्षबाट सहयोग गर्नु अत्यावश्यक छ ।
पहुँच, प्रभाव र पैसाको भरमा काम हुने र गर्ने प्रणालीको अन्त्य हुनुपर्छ । सुशासनसहित देशको भविष्य उज्ज्वल बनाउने काममा सबै पक्ष इमानदार भएर लाग्नुपर्छ । जेनजीको नाममा देशको सार्वजनिक सम्पत्ति विनास गर्नेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ । आन्दोलनकारीलाई हत्या गर्नेलाई कारबाहीको दायरामा ल्याउन छानवीन आयोग गठन गर्नुपर्छ । दण्डहीनता र भ्रष्टाचार अन्त्य गर्न अभियान चलाउनु आवश्यक छ ।
आगामी फागुनका लागि तोकिएको प्रतिनिधि सभाको आवधिक निर्वाचनको सुनिश्चितता गर्दै सबै पुस्ताको सहभागितामा देश विकासलाई तीव्रता दिन अहिलेको आवश्यकता हो ।
(यादव हेटौँडा ९ स्थित प्रगति मावि कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।)
