काठमाडौँ, असोज ५ गते । सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अयोग गठन गरेको हो ।

आयोग सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वरराज भण्डारी रहने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । आयोगको कार्य अवधि तीन महिनाको रहने छ ।

त्यस्तै मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र देव शाक्यलाई हटाएर पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो । त्यसैगरी सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुखमा एआइजी डा. मनोज केसीलाई नियुक्त गरेको छ ।
