हेटौँडा, असोज १६ गते । पश्चिम मकवानपुरको मनहरीमा ञ्युङ्ने मौनव्रत सम्पन्न भएको छ । मनहरी गायँपालिका वडा नं. ५ वसन्तपुर गुम्बा टोलस्थित टाँसी छ्योईलिङ गुम्बामा असोज १३ गते फूलपातीदेखि शुरु भएको त्रिदिवसीय महाकरुणीमय आर्य अवलोकितेश्वर (चेनरेसी) को ञ्युङ्ने मौनव्रत बिहीबार सम्पन्न भएको हो ।
नेपाल अहिंसावादी बौद्धधर्म चक्र संघका गुरु लोपेन ङवाङ दोर्जे लामाको आतिथ्यतामा भएको ञ्युङ्ने मौनव्रत व्रतमा लामा गुरु, मणिपा र व्रतालु उपासक–उपासिका गरी ३८ जनाको सहभागिथा रहेको थियो । बौद्धधर्मलम्बीहरु दशैँका बेलामा शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको बली चढाईने भएकोले मुक्तिका लागि कामना गर्दै सबै प्राणीप्रति करुणा र बोधिचित्तको भावना जागृत गराउने उद्देश्यले देशैभरको गुम्बामा मौनव्रत बस्ने गरेका छन् ।
मौनव्रत फूलपातीको दिन लामा गुरु, मणिपा र व्रतालु उपासकहरू जम्मा भई असोज १४ गते अष्टमीको दिन बिहान शिल ग्रहण सोक्ज्योङ मौनव्रत, नवमीको दिन खानपान र पानीसमेत नखाई निराहार मौनव्रत बसी १६ गते दशमी बिहीबार बिहान सातु, तातोपानी र फलफूल खाई मौनव्रत बिसर्जनपछि प्रमुख गुरुबाट प्रवचन, पुजापाठ, प्रसाद (छोग) ग्रहण छेवाङ अभिषेक टासी मंगल गरी ञ्युङ्ने मौनव्रत सम्पन्न गरिएको थियो ।
त्यस्तै, छ वर्षपछि पुनः सन्चालनमा ल्याएको ञ्युङ्ने मौनव्रत व्रत अझै परिस्कृत गरी बौद्धधर्म संस्कृतिको चेतना सबैमा जागृत गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गर्ने गुम्बा व्यवस्थापन समितिको अध्यक्ष राजाराम स्याङ्तान बताउनुभयो ।




