हेटौँडामा रोकिएका सवारी साधनलाई काठमाडौँ पठाइयो

लोकप्रिय

हेटौँडा, असोज २० गते । अविरल वर्षापछि विपद् जोखिमका कारण हेटौँडामा रोकिएका सवारी साधनहरुलाई आइतबार बिहानबाट काठमाडौँलगायत गन्तव्यतर्फ पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार दिउँसोबाट काठमाडौँ जाने कान्ति लोकपथ, त्रिभुवन राजपथलगायत छोटो दुरीको मार्गमा आवागमनमा रोक लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले हेटौँडा हुँदै काठमाडौँलागयतका स्थानमा जान हेटौडामा आएर रोकिएका सवारीहरुलाई आइतबार बिहानबाट गन्तव्यतर्फ पठाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार लामो दुरीको सवारी आवागमन आइतबार पनि जारी रहेको छ, यहाँ आएर बिचमा रोकिएकालाई पनि निगरानीसहित पठाइएको छ । त्रिभुवन राजपथमा सवारीका साधन सुचारु रहेको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ महालक्ष्मी खोलास्थित फाखेल हुमाने काठमाडौँ सडकखण्डमा ढुङ्गामाटो र लेदोसहितको पहिरो माथिबाट खसेर उक्त सडक खण्ड अवरुद्ध भएकोमा पहिरो पन्छाएर सुचारु गरिएको छ ।
पहिरोका कारण मकवानपुर हुँदै काठमाडौँ जाने दुई वटा सडक अबरुद्ध बनेको छ ।

कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी दक्षिणकाली–काठमाडौँ सडक पहिरोका कारण शनिबार दिउँसोबाट बन्द भएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ सिस्नेरी बजारस्थित कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडौ सडकखण्डको डोढारे खोलामा पानीको बहाब बढ्न गई शनिबार दिउँसोबाट अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अबरुद्ध भएको उक्त सडक खुलाउन समन्वय भइरहेको छ ।

यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ८ वगुवा खोला नजिक कान्ति लोकपथ सडक खण्डमा वर्षाको कारण सडक माथिबाट ढुङगा,माटो लेदोसहितको पहिरो खसी सडक दिउँसो १५ः३५ बजेबाट उक्त सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । अवरुद्ध भएको उक्त खुलाउन समन्वय भइरहेको प्रहरीको भनाई छ ।
यस्तै कान्ति लोकपथ अन्तर्गत नै बकैया गाउँपालिका वडा नं. ११ स्थित सिमात घुम्तीमा समेत पहिरो झरेर उक्त खण्ड अवरुद्ध बनेको छ ।

ताजा समाचार

Related Articles