काठमाडौँ, असोज ३० गते। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा बोल्ने नेताहरूले सुरक्षाको प्रत्याभूति सहित निर्वाचनको वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको छ । बैठकमा बोल्ने नेताहरूले आम नागरिकले सुरक्षाको महसुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको र सरकारको हालसम्मको गतिविधिले निर्वाचनको सहज वातावरण बन्ने भन्दा प्रतिशोध साँध्ने बाटोमा गएको देखिएको धारणा राख्नुभएको नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा बोल्ने नेताहरूले जेन–जी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि भएको साङ्घातिक हमलाप्रति निन्दा गर्नुका साथै आन्दोलनको घटनाको जरैदेखि छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र संसद्को पुन:स्थापना वा निर्वाचन दुबैमा नेपाली काँग्रेस खुल्ला रहनुपर्ने धारणा राख्नुभएको प्रवक्ता डा महतले जानकारी दिनुभयो ।

असोज २८ गते देखी पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा वक्ताहरूले पार्टीको अधिवेशनका लागि स्पष्ट कार्यतालिकाका साथ अगाडि बढ्न पनि माग गर्नुभएको थियो भने बैठकको सुरुमा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा समेत बैठकमा जानकारी गराउनुभएको थियो ।

नेपाली काँग्रेसका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४ सय ८८ जनाको हस्ताक्षर सहित विशेष महाधिवेशनको माग भएको कार्यवाहक सभापति खड्काले बताउनुभयो । आजको बैठकमा नेताहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, राजीव कोइराला लगायत ७ जनाले आ–आफ्नो धारणा राख्नुभएको छ भने नेताहरूले बोल्ने क्रम जारी छ । केन्द्रीय समितिको अर्को बैठक भोली बिहान ११ बजे पुन बस्ने नेपाली काँग्रेसले जनाएको छ ।
