सुन्दर हरैंचामा सबैभन्दा बढी वर्षा

लोकप्रिय

काठमाडौँ,  कात्तिक १४ गते ।  मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ । उहाँका अनुसार यो भारी वर्षा हो । दुई सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ ।

सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ । दुई दर्जन बढी वर्षा मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ । ललितपुरमा ७२ र काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले आज साँझसम्मै प्रभावित हुने सूचना अधिकारी कायस्थले जानकारी दिनुभयो । त्यसपछि भने सुधार हुँदै जानेछ ।

नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ । हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कतै धेरै भारी वर्षा भएको छ ।

ताजा समाचार

Related Articles