पाटन (ललितपुर), कात्तिक १४ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक आइतबारसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता डा प्रकाशशरण महते जानकारी दिनुभयो ।

गत असोज २८ गतेदेखि सुरु भएको सो बैठक यही कात्तिक १ गते स्थगित भएपछि पुनः कात्तिक १३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो ।

गत असोज २८ गते पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएसँगै स्थगित भएको बैठक असोज ३० गते कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूका साथै आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूसमेत एक सय ६५ सदस्यले भाग लिने केन्द्रीय कार्यसमिति बैठकमा बाँकी पदाधिकारी एवम् सदस्यहरुले विभिन्न १० प्रस्तावबारे धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा जेनजी आन्दोलन र विकसित पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको १५औँ महाधिवेशनको तयारी, प्रतिनिधिसभा विघटन र सरकारद्वारा घोषित आगामी फागुन २१ गतेको निर्वाचन, मुलुकको शान्ति सुरक्षा एवम् सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनःनिर्माण, कार्यसम्पादन समितिको निर्णय र अनुशासनसम्बन्धी व्यवस्थालगायत विषयमा छलफल जारी रहेको केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।




