काठमाडौँ, कात्तिक १९ गते । आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ । नेपालको यो शृङ्खलामा लगातार चौथो हार हो । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार भएको खेलमा नेपाल घरेलु टोली युएईसँग पुन: स्तब्ध बन्यो ।

यसअघि यस शृङ्खलामा पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रन र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो । जितका लागि दुई सय ४० रनको लक्ष्य पछ्याएको युइर्एले ४९.५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । युएईका लागि मुहमद साहदद र मुहमद वासिमले अर्धशतकीय पारी खेल्नुभयो ।

शतकबाट चुक्नुभएका साहददले एक सय २३ बलमा ६ चौका तीन छक्काको सहयोगमा ९६ रन बनाउनुभयो । मुहमद वासिमले ७६ रन बनाउनुभयो । यस्तै सोहिव खानले २९, कप्तान अलिसान सरर्फुले १८ र हर्षित कौशिकले १३ रन जोड्नुभयो । बलिङमा नेपालका करण केसीले तीन तथा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाउनुभयो ।

यस्तै कुशल मल्लले ४५ रन नाउनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपर आशिफ शेखले ३४, आरिफ शेखल ३० र सन्दीप लामिछानेले १५ रन बनाउनुभयो । बलिङमा युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई दुई तथा जाहिद अलले एक विकेट लिनुभयो । नेपाल आज यस शृङ्खलामा सान्त्वना जित निकाल्ने अभियानमा छ । नेपालले अघिल्ला तीन खेलमा हार खेपेको थियो ।

युएईसँगको हारसँगै २० खेलबाट १२ अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । विजेता युएई समान खेलबाट १० अङ्क जोड्दै अन्तिममा छ । यस्तै २४ खेलबाट ३६ अङ्क बनाएको अमेरिका शीर्षस्थानमा छ ।




