हेटौँडा, कात्तिक २० गते । नेपाल टेलिकमले मकवानपुरको थाहा नगरपालिका चित्लाङमा एनटी फाइबर (एफटीटीएच)सेवा विस्तार गरेको छ । थाहा नगरपालिका–९ मा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा मंगलवार टेलिफोन तथा इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको शुरू भएको हो ।

ग्राहकको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थामा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको बताइएको छ । हाल रेडियो ब्याकहोलबाट सेवाको शुरू गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा फाइबर ब्याकहोलबाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको बताइएको छ ।




