जनकपुरधाम, कात्तिक २२ गते । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार “सोनल” मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । मधेस प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने अवस्था नदेखेपछि प्रदेश सभामा नै पदबाट राजिनामाको घोषणा गर्नुभएको हो ।

प्रदेशसभाको आजको बैठकमा जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र त्रिभुवन साह अनुपस्थित रहनुका साथै नेकपा माओवादी केन्द्रका प्रदेशसभाका सदस्य रहवर अन्सारी र माला कर्णले तटस्थ बस्ने प्रदेशसभा बैठकमा घोषणा गरेपछि बहुमत नपाउने अवस्था देखेपछि मुख्यमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको हो । मुख्यमन्त्री सोनललाई मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिमे अजोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।




