काठमाडौँ, कात्तिक २८ गते । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको समीक्षा बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि विभागीय मन्त्री र सचिवलगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुने हुँदा आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभयो ।

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन राज्यका सबै निकायहरूको सक्रिय भूमिकाको आवश्यकता रहेकोमा प्रधानमन्त्री कार्कीले जोड दिनुभयो । प्रधानमन्त्री कार्की सहित मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरूको उपस्थितिमा समीक्षा बैठक बसेको थियो । प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो । उहाँको प्रस्तुतिपछि सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीहरुले आआफ्नो टिप्पणी र सुझाव दिनुभएको थियो ।




