लेखनाथ, कात्तिक २९ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानव कल्याण नै ठुलो धर्म भएको बताउनुभएको छ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उहाँले मानव कल्याण भन्दा अरू ठूलो धर्म नभएको बताउनुभएको हो ।

सहयोगापेक्षी सडक आश्रित मानवको हित गर्ने कार्य पुण्यको कर्म भएको बताउँदै प्रदेश प्रमुख भट्टले मानव सेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरको विकास, संरक्षण, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा क्रियाशील समितिको निरन्तर सेवाको पनि उहाँले प्रशंसा गर्दै अझ प्रभावकारी रुपमा सेवा प्रवाह गर्न दर्शनार्थीहरुलाई पूजा आजको लागि सहजीकरण गर्न सुझाव दिनुभयो ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा १४ वर्षदेखि अनवरत लागिरहेको मानव सेवा आश्रमलाई यो सम्मान अर्पण गर्ने निर्णयप्रति समितिलाई धन्यवाद दिँदै उहाँले आश्रम सञ्चालकहरूलाई बधाई ज्ञापन गर्नुभयो । समितिका संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर प्रधानले १५ लाखको अक्षय कोष स्थापना गरी सञ्चालन गरिएको उक्त पुरस्कारको राशि १ लाख १ हजार रहेको छ । समितिका तर्फबाट प्रदेश प्रमुख भट्ट, समितिका अध्यक्ष एवं उद्योगपति तथा समाजसेवी गणेशबहादुर श्रेष्ठले आश्रमका सञ्चालक रामजी अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

उक्त पुरस्कार यस वर्ष मानव सेवा आश्रम नेपाललाई संस्थागत रुपमा प्रदान गरिएको हो । यस पुरस्कारबाट यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृति साधक स्वर्गीय सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई सम्मान गरिसकेको साहित्यकार तीर्थ श्रेष्ठले बताउनुभयो ।




