खासकुरा संवाददाता
हेटौँडा, मंसिर १ गते ।अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिग–०२५ को उपाधिका लागि कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी भिड्दैछन् ।
दुवै टिमले मंगलबार हेटौँडाको गौरीटार रंगशालामा हुने अन्तिम प्रतिस्पर्धामा उपाधि चुम्ने दावी गरेका छन् ।
फाइनलअघि सोमबार मकवानपुरको पर्यटकीय एवं ऐतिहासिक स्थल मकवानपुरगढी पसिरसरमा भएको प्रि–म्याच प्रेस कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि आफ्नो पक्षमा पार्ने दाबी गरेका हुन् । उनीहरुले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने बताएका थिए ।

कन्फ्रेन्समा लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले चित्लाङसँग यसअघि भएको खेलमा आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्दै जितेको भन्दै त्यसलाई फाइनल पनि निरन्तरता दिइने बताउनुभयो । खेलाडीको तालमेल मिलेको छ र उत्तेजित नभई खेल्ने छौँ उहाँले भन्नुभयो, चित्लाङलाई कम ठान्नु हुँदैन, तर नतिजा भने हाम्रै पक्षमा आउँछ ।
लालीगुराँस लिगमा एकमात्र अपराजित टोली हो । यस्तै लालीगुराँसका कप्तान यमबहादुर श्रेष्ठले टिम मजबुत रहेको उल्लेख गर्दै उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो ।

चित्लाङका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलमा लालीगुराँसलाई हल्का रुपमा नलिएको भनाई राख्दै खेलमा सुधार भएकोले उपाधि जित्न र यसका खेलाडीहरु प्रतिबद्ध रहेको बताउनुभयो । ‘पहिले पराजित भएको हो अब उपाधि भने हाम्रो पोल्टामा आउँछ उहाँले भन्नुभयो ।
चित्लाङका कप्तान कुलदिप कार्कीले सबै टिम सदस्यको सामूहिक प्रयासमा फाइनल यात्रातय गरेको फाइनल खेलमा अझै मिहेनत गरेर ट्रफी चुम्ने लक्ष्य रहेको बताउनुभयो ।
यसअघि लिगचरणको खेलमा लालीगुराँसले चित्लाङलाई पराजित गरेको थियो । मंगलबार दिउँसो २ बजे हुने फाइनलमा विजेता टिमले १० लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने छ ।




