काठमाडौँ, मङ्सिर १ गते । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ । केन्द्रका सचिव सुरजकुमार वैद्यसँगको छलफलमा आज उहाँले जेनजी आन्दोलन नै भ्रष्टाचारविरुद्धको आन्दोलन भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै उहाँलाई सार्वजनिक निकायहरूबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरी सुनुवाइका लागि केन्द्रको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री कार्कीले भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“सार्वजनिक निकायहरूबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ । केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले विकास–निर्माणका योजनाहरूमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा केन्द्रको ध्यान पुग्नुपर्नेमा जोड दिनुभएको थियो । यसको लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री कार्कीले आम नागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउन निर्देशन दिनुभएको थियो ।




