काठमाडौँ, मङ्सिर २ गते । चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हरायो । जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

चितवनका लागि रवि वोपराले ५२ रनको अर्धसतकीय पालि खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै दीपक बोहराले ४२, सैफ जईफले अविजित ३८, कप्तान कुशल मल्लले २० र अर्जुन साउदले अविजित आठ रन जोड्नुभयो । बलिङमा कर्णालीका सोमपाल कामीले दुई तथा युनिस सिंह, युवराज खत्री र मार्क वाटले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो । कर्णालीका लागि भारतीय ओपनर प्रियाङ्क पान्चालले ९० रनको विस्फोटक अर्धसतकीय पालि खेलेपनि टोलीको हार टरेन । पान्चालले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको थियो। यस्तै पवन सर्राफले अविजित २७, अर्का ओपनर म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन बनाउनुभयो । बलिङमा चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्विरले एक एक विकेट लिनुभयो । जितसँगै चितवनले दुई अङ्क बनाएको छ । कर्णालीले हारबाट एनपिएलको सुरुवात गरेको छ ।




