सेवामुखी र विकासमुखी लक्ष्यसहित प्रदेश सरकारले काम गरिरहेको छः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, मङ्सिर ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले जनमुखी, आयमुखी, गरिबमुखी, न्यायमुखी, सेवामुखी र विकासमुखी अवधारणका साथ प्रदेश सरकारले काम गर्ने र गरिरहेको बताउनुभएको छ ।
आफ्नो नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरु सार्वजनिक गर्न मङ्गलबार हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारले जनमुखी, आयमुखी, गरिबमुखी, न्यायमुखी, सेवामुखी र विकासमुखी लक्ष्यसहित काम गरिरहेको बताउनुभएको हो ।
उहाँले आफूले गरेको प्रतिबद्धता अनुसारको काम नभएको बताउनुभयो ।
उहाँले जेनजी प्रदर्शनीका क्रममा मन्त्रालयहरु आगजनी र तोडफोडमा परेका कारण प्रदेश सरकारले जुन गतिमा काम गर्नुपर्ने हो त्यसमा समस्या आएकोले सरकारले द्रुतगतिमा काम गर्न नसकेको भन्दै सरकार आफूले गरेका प्रतिवद्धता अनुसार कार्यसम्पादन गर्न कुनै कसर नराख्ने बताउनुभयो । सरकारको अहिलेसम्मको कामलाई हेर्दा आफूले सन्तुष्ट हुने गरी कार्यसम्पादन हुन नसकेको र अब क्रमशः कामले गति र सुधार आउने उहाँको भनाई छ ।
उहाँले प्रदेश सरकार गठन गर्दा गरिएका प्रतिबद्धताहरु कार्यान्वयनको चरण रहेको बताउनुभयो ।
जेनजी प्रदर्शनीका क्रममा क्षति पुगेका भौत्तिक संरचनाको पुनर्निर्माण सुरु गरिएको भन्दै उहाँले आयोजना बैङ्क प्रभावकारी रुपमा कार्यान्वयनमा रहेको, सवारी दुर्घटना न्यूनीकरणको क्षेत्रमा काम भईरहेको, प्रहरी र कारागारको संरचनागत सुधारमा बजेट उपलब्ध गराइएको सय दिनको आफ्नो उपलब्धिमा उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिवलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles