हेटौँडा, मंसिर ११ गते । मकवानपुरको कैलाश गाउँपालिकामा दुई सय ८२ घरमा खानेपानी धारा निर्माणका लागि त्रि–पक्षीय सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको हस्ताक्षर कार्यक्रममा साझेदार संस्था वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक निजन श्रेष्ठ, गाउँपालिका अध्यक्ष मुक्तान र उपभोक्ता समितिका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

साझेदार संस्था वाइन टु वाटर नेपालले गाउँपालिकाको विभिन्न वडामा चरणबद्ध सर्भे पश्चात् पाँचवटा योजना छनौट गरी बुधबार त्रि–पक्षीय सम्झौता गरिएको हो । उक्त योजनामा गाउँपालिकाको २५ प्रतिशत योगदान रहन्छ भने संस्थाको ६५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत योगदान रहने गरी सम्झौता गरिएको छ ।
गाउँपालिकाको वडा ६ को मराङसिंह आगेटार खानेपानी उपभोक्ता समितिमा ६४ घरधुरी, वडा ७ को कोथलिटार बस्ताल खानेपानी उपभोक्ता समिति अन्तरगत ६८ घरधुरी, वडा ८ को वाक्सिराङ माथिल्लो टोल खानेपानी उपभोक्ता समितिमा ५४ घर, वडा ९ को घैराङ खानेपानी उपभोक्ता समितिमा ७४ घर र वडा १० को थिङडाँडा खानेपानी उपभोक्ता समितिमा २२ घरधुरीसहित २८२ घरधुरीका एक हजार ७३२ जना लाभान्वित हुने जनाइएको छ । उक्त योजना सम्पन्न गर्न तीन करोड ६७ लाख २८ हजार ५५८ रुपियाँ लाग्ने छ । गाउँपालिकाले ९१ लख ८२ हजार १३९ रुपियाँ योगदान रहेको छ ।

पालिका अध्यक्ष मुक्तानले एक घर एक धारा अनुरुप वास परियोजना अन्तरगत गाउँपालिका र अन्य साझेदारी संस्थाहरुसँगको सहकार्यका काम गर्दै आइरहेको बताउनुभयो ।
योजनालाई कसरी दीगो बनाउने हो यहाँहरुको हातमा रहन्छ, सुरक्षित खानेपानीले स्वास्थ्यमा महत्वपूर्ण योगदान रहन्छ, अध्यक्ष मुक्तानले भन्नुभयो ।
उहाँले शौचालय नभएको घरमा धारा जडान नहुने परियोजनाको योजना रहेकाले अनिवार्य शौचालय निर्माण गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक श्रेष्ठले खानेपानीको क्षेत्रमा सन् २०१६ देखी काम गर्दै आइरहेको भन्दै समृद्ध परियोजना अन्तरगत पाँच पालिका मध्ये कैलाशमा पनि हामीले योजना बनाई काम गर्न लागेको बताउनुभयो ।

योजना अन्तरगत कोथलीटार बस्ताल क्षेत्रमा ५ वटा इन्टेक, २ वटा डिसी र ३ वटा आर.भि.टी निर्माण गरिने वास कन्सलटेन्ट बासुदेव पाण्डेयले बताउनुभयो । थिङडाँडा क्षेत्रमा एक वटा इन्टेक, डीसी एक वटा र आरभिटी २ वटा, वाक्सिराङ माथिल्लो टोल क्षेत्रमा एक वटा इन्टेक, १ वटा डीसी र तीनवटा आरभिटी निर्माण गरिनेछ । त्यस्तै, घैराङ क्षेत्रमा एक इन्टेक र ३ आरभिटी, मराङसिंह आगेटार क्षेत्रमा एक इन्टेक,२ डिसी र तीन वटा आरभिटी निर्माण गरिने छ । यी योजना मध्ये वडा ९ को एक विद्यालयमा पनि धारा निर्माण गरिने जनाइएको छ ।




