मकवानपुर, मङ्सिर १६ गते । बागमती प्रदेश निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित भएर बायोमेट्रिकबाट भन्दा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीका लागि नाम दर्ता गराउने धेरै रहेका छन् । राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउन दिएको छोटो अवधिमा नै बायोमेट्रिकबाट भन्दा बढी सङ्ख्यामा मतदाता नामावली दर्ता भएको हो । मङ्सिर ५ गतेसम्म राष्ट्रिय परिचयपत्र र प्रदेशभरका निर्वाचन कार्यालयबाट दुवै माध्यमबाट दुई लाख पाँच हजार १६७ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत एक लाख पाँच हजार ७८२ जनाले नाम दर्ता गराएका हुन् । योग्य नागरिकले जिल्ला निर्वाचन कार्यालयमा बायोमेट्रिक दिई तथा राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत दर्ताका लागि निवेदन दिएका थिए ।

प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार कार्यालयमा भौतिक रूपमा उपस्थित भएर बायोमेट्रिक दिएर ९९ हजार ३८५ जनाले मतदाता नामावली दर्ता गराएका छन् । तीमध्ये ५६ हजार ३६४ जना पुरुष, ४३ हजार छ जना महिला र १५ जना अन्य रहेका छन् । काठमाडौँ जिल्लामा सबैभन्दा धेरै ६२ हजार ४५२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । ललितपुर जिल्लामा २६ हजार ८११, चितवन जिल्लामा २२ हजार २६३ जना, भक्तपुर जिल्लामा २० हजार १७७ जनाले नाम दर्ता गराएका छन् । यस्तै मकवानपुरमा १४ हजार ६०३ जना, काभ्रेपलान्चोकमा १४ हजार ३२९ जना र सिन्धुलीमा सात हजार ३९ जनाले नाम दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन अधिकारी ढकालले रामेछापमा छ हजार १०२ जना, दोलखामा छ हजार ६८७ जना र सिन्धुपाल्चोकमा छ हजार ९३९ जनाले मतदाता नाम दर्ता भएका छन् । यस्तै गरी धादिङमा आठ हजार ४३० जना, नुवाकोटमा आठ हजार ४०१ जना र सबैभन्दा कम रसुवामा ९३४ जनाले नाम दर्ता गराएको कार्यालयले जनाएको छ । गत असोज १० गतेसम्म बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ७९२ मतदाता रहेका थिए । निर्वाचन आयोगले मङ्सिर २० गतेदेखि पुस १५ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यव्रmम सञ्चालन गर्ने भएको छ ।




