सडकको सूचनापछि हेटौँडामा दैनिक आन्दोलन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १६ गते । सडक डिभिजन, हेटौँडाले मुआब्जा र क्षतिपूर्ति बिना हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडा गर्न सूचना जारी गरेसँगै हेटौँडाका नागरिक आन्दोलित बनेका छन् । हेटौँडा बजार क्षेत्रमा दैनिक आन्दोलन हुन थालेको छ ।
हेटौँडाको बजार क्षेत्रका व्यवसायी उचित व्यवस्थाको माग गर्दै बजारनै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
वर्षौदेखि भोगचलन गर्दै आएको, मालपोत तिर्दै आएको र सरकारले लगतसमेत कट्टा नगरेको जग्गाको मुआब्जा दिएको भ्रम सिर्जना गरेर सडक सीमा विस्तार गछौँ भन्नु न्योयाचित नभएको घरजग्गा धनीको दावी छ ।

हेटौँडा बजार क्षेत्र सोमबार जस्तै मङ्गलबारसमेत बन्द गरिएको छ । बजार बन्दै गरेर घरजग्गा धनी र व्यवसायी आन्दोलनमा उत्रिएसँगै हेटौँडा बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा समेत समस्या आएको छ ।
मङ्गलबार बजार बन्दपछि बुद्ध चोकमा आयोजित कोण सभामा मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले घरजग्गा धनीले मुआब्जा र क्षतिपूर्ति तथा व्यवसायीको उचित व्यवस्थापन बिना सडक सीमा बिस्तार गर्न नदिने बताउनुभयो ।
यस्तै घरजग्गा धनी सानु लामाले सडक विस्तारमा नाममा गरिने अन्याय स्वीकार्य नहुने बताउनुभयो ।

सडक डिभिजन, हेटौँडाले हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडा गर्न जारी गरेको पछिल्लो सूचना अदालतको फैसलालाई तोडमोड गरेर निकालेको प्रभावित घरजग्गा धनीले बताएका छन् ।
घरजग्गा धनीले दिएको रिट निवेदन उपर अदालतले गरेको फैसला कार्यान्वयन नै नगरी एकतर्फी सडक डिभिजनले सूचना जारी गरेर आतङ्क सिर्जना गरेको प्रभावित घरजग्गा धनीले बताएका हुन् ।
सडक डिभिजन हेटौँडाले हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटेदेखि सामरी पुलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्म सडकको केन्द्र भागबाट दायाँबायाँ २५/२५ गज सडक चौडा गर्ने भन्दै १५ दिने सूचना जारी गरेको छ ।
७५ फिटभित्रको घरजग्गाको हकमा मानवीयता हेरेर गर्नु, क्षतिको यकिन र जाँचबुझ गर्नु र क्षतिपूर्ति र मुआब्जा दिएर मात्र भत्काउन अदालतले गरेको फैसलालाई सडक डिभिजन हेटौँडा र स्थानीय प्रशासनले कार्यान्वयन नै नगरी एकतर्फी सूचना जारी गरेको प्रभावित घरजग्गा धनीको दावी छ ।

ताजा समाचार

Related Articles