घोषित मितिमै निर्वाचन गर्न सरकार तयारीमा जुटेको छ : प्रधानमन्त्री कार्की

लोकप्रिय

काठमाडौँ, मङ्सिर १८ गते । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताउनुभएको छ । २२ औँ राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले आम निर्वाचन गराई मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउने सरकारको अभियानलाई सफल पार्न सबैको सहभागिता र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनबाट मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस–वास–कपासको सुनिश्चितताको माग गरेको र ती माग पूरा गर्न सबै एक भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।प्रधानमन्त्री कार्कीले नेपालको संस्कृतिलाई पर्यटनसित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिरहेको सन्दर्भमा हाम्रा मौलिक निधिहरूको जगेर्ना गर्न विशेष ध्यान दिनु आवश्यक रहेको औँल्याउनुभयो ।

प्रधानमन्त्री कार्कीले नागरिकहरुबीच एक आपसमा सद्भाव, पुर्खाहरूको सम्मान र युवाहरूलाई प्रोत्साहन गर्न ज्यापु दिवस तथा यःमरि पुन्हि जस्ता सांस्कृतिक अभियानहरूको आवश्यकता रहेको र यसको निरन्तरताका लागि सरकारबाट निरन्तर सहयोग हुने विश्वास समेत दिलाउनुभयो ।

ताजा समाचार

Related Articles