हेटौँडाको राजमार्ग क्षेत्र अन्धकारमाः ३६ घण्टापछि आयो सीमित क्षेत्रमा विद्युत्

लोकप्रिय

हेटौँडा, मङ्सिर २१ गते । हेटौँडा, मङ्सिर २१ गते । सडक सीमा चौडा कार्य सुरु गरिएसँगै हेटौँडा उपमहानगरपालिकाको राजमार्ग र आसपासको क्षेत्र अन्धकारमय बनेको छ । दुई दिनदेखि टेलिफोन र इन्टेरनेट सेवा समेत अवरुद्ध छ ।
शनिबार बिहानैबाट अवरुद्ध बनेको विद्युत् ३६ घण्टापछि हेटौँडा बजारको राजमार्ग क्षेत्र आंशिक रुपमा सुचारु भएको छ ।
घरटहरालगायतका संरचना डोजर चलेसँगै हेटौँडा बजारमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा विच्छेद भएको हो ।
टेलिफोन र इन्टेरनेट सेवा राजमार्ग क्षेत्रमा अझै सुचारु हुन नसकेपछि सञ्चार सुविधाबाट समेत वञ्चित भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र निजी क्षेत्रका ईन्टरनेट सेवा प्रदायक संस्थाहरु सेवा सुचारु गर्न खटिएका छन् ।

सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकमा सडकको केन्द्रबाट दायाँबाया २५ गजभित्र बनेका घरटहरालगायतका संरचनामा डोजर लगाएसँगै विद्युत्, टेलिफोन र इन्टेरनेट सेवाका तार र पोल हेटौँडा बजार क्षेत्रमा अस्तव्यस्त बनेको छ ।
सडक डिभिजनले अव्यवस्थित र बिना योजना घरटहरा भत्काउँदा तारहरु चुडिएको र असरल्ल बनेको हो ।
नेपाल टेलिकम हेटौँडाका सूचना अधिकारी दीपक खड्काले टेलिफोन र टेलिकमको इन्टरनेट सेवा सुचारु गर्न कम्तिमा चार दिन लाग्ने जानकारी दिनुभयो ।

उहाँले आइतबार हेटौँडा अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतका क्षेत्रमा मर्मतको कार्य भएको भन्दै सोमबार मकवानपुर उद्योग वाणिज्य संघ चोक र आसपासका क्षेत्रमा र क्रमशः अन्य क्षेत्रमा चुडिएका तारको व्यवस्थापनसँगै मर्मत सम्भार गरेर टेलिफोन र टेलिकमको इन्टरनेट सेवा सुचारु गरिने बताउनुभयो ।
उता विद्युत् प्राधिकरणले डोजर लगाउन पूर्व हेटौँडा बजार क्षेत्रमा विद्युत् अवरुद्ध बनाएको थियो ।
प्राधिकरणले राजमार्ग क्षेत्रका घरधनीलाई सडक केन्द्रबाट २५ गज छाडेर मात्र विद्युत् मिटर जडान गर्ने गरी पुनः निवेदन माग गरेको छ ।
सडक डिभिजनले विद्युत्, टेलिफोन र इन्टेरनेट सेवामा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्व तयारी र व्यवस्थापन बिना घरटहरालगायतका संरचनामा डोजर मात्र चलाउने योजना बनाउँदा हेटौँडा उपमहानगरपालिकाको राजमार्ग र आसपासका बासिन्दा प्रभावित बनेका छन् ।
राजमार्गको दायाँबायाँका ५३१ घरटहरालगायतका संरचना डोजर लगाएर साङ्केतिक रुपमा भत्काइएको छ ।
रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य संघसम्म र बुद्धचौकदेखि राप्ती पुलतर्फका घरटहरा भत्काइएको छ ।

ताजा समाचार

Related Articles