काठमाडौँ, मङ्सिर २२ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ११४ दलले भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ११७ दलबाट १२० वटा निवेदन परेकामा निर्वाचन आयोगले १३ वटा निवेदन खारेज गर्दै १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने गरी दलको निवेदन स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुन ११७ दलबाट १२० वटा निवेदन परेकामा १३ वटा निवेदन खारेज भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन चिह्न प्रयोग हुने कुल सङ्ख्या १०७ हुने भएको छ । आठ वटा दल एकल चुनाव चिह्नमा गएका छन् । दर्ताका लागि निवेदन दिएको एउटा दलले निवेदन फिर्ता लिएको, एक दल जरिबाना नतिरेकाले निवेदन खारेज भएको, एक दलको दुई पक्षबाट छुट्टाछुट्टै निवेदन परेकामा दर्ताको निवेदन खारेज भएको तथा दुई दलको एकलबाट एउटा निवेदन खारेज भएको आयोगले जनाएको छ ।

आयोगमा दर्ता कायम भएका दलको सङ्ख्या १४३ छ । जसमध्ये ११७ दलबाट निर्वाचनमा भाग लिन निवेदन प¥यो । १०२ वटा दल एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने छन् । एकल निर्वाचन चिह्न लिई संयुक्त रूपमा भाग लिने १२ दलका पाँच समूह छन् । पाँचै समूहका १२ वटा दलले पाँच वटा निर्वाचन चिह्न पाएका छन् । निर्वाचन आयोगले मङ्सिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो । आयोगले समयावधि थप गरेर मङ्सिर १४ गतेसम्म दल दर्ताको समय थपेपछि ११४ वटा दलबाट निवेदन परेको हो ।




