सडक डिभिजनले धराप पारेर छाडेका घरले हेटौँडा बजारक्षेत्रमा बढ्यो सुरक्षा जोखिम

लोकप्रिय

हेटौँडा, मङ्सिर २४ गते । हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा सडक डिभिजन हेटौँडाले सडक चौडा गर्ने क्रममा घरटहरामा डोजर चलाएर अधकल्चो छाड्दा जोखिम बढेको छ ।
राजमार्ग क्षेत्रका घरटहरामा सडक डिभिजनले कोपरेमात्र छाडेपछि धराप बनेका कारण पैदलयात्रुदेखि सवारी साधनको आवागमनमा जोखिमसँगै सुरक्षा चुनौती बढेको हो ।
सडक डिभिजनले डोजर लगाएर छाडेपछि भत्किएका घरका सामाग्री, टेलिफोन र इन्टरनेटका तार, सडक छेउमा लडेका रुख पाँच दिनदेखि असरल्ल बनेको छ ।
सडकमा सामाग्रीलगायतका बस्तुका कारण जोखिम बढाएपनि सडक सफाईमा सडक डिभिजन हेटौँडा र हेटौँडा उपमहानगरपालिका कार्यालयको चासो र सरोकारको विषय बनेको छैन ।
हप्तौँ दिनदेखि व्यापारीका पसल र सेलका नाममा व्यापारीले बिक्री गरेका सामानमा प्लाष्टिकलगायतका फोहोरले हेटौँडाको मुख्य बजार प्रदुषित भएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट सडक डिभिजनसँगको समन्वयमा असरल्ल बनेका निर्माण सामाग्री हटाउन सहजीकरण गर्ने गरी निर्णय भएको बताउनुहन्छ ।
धराप बनेका घरको अगाडिको सडक पेटीमा केही व्यापारीहरुले दैनिकजसो सामान बिक्रीका लागि राख्ने गरेकोले व्यापारीसँगै ग्राहकको सुरक्षा चुनौतीसमेत बढेको छ ।
केही व्यापारीले धराप बनेका घरको अगाडिको सडक पेटीमा सामान राखेर बिक्री गरेको भन्दै सार्वजनिक रुपमा विरोध भएपछि मङ्गलबार हेटौँडा उपमहानगरपालिकाले माइकिङ्ग गरेर सडकपेटीमा राखेर सामान बिक्री नगर्न सचेत गराउँदै कारबाहीको चेतावनी दिएको छ ।
सडक सीमाभित्र परेका घर–टहरा भत्किँदा बनेका भग्नावशेष, आधा झरेका भवनका भाग, असरल्ल झुन्डिएका तार तथा फुटपाथमै थुप्रिएका सामग्रीले आवतजावतनै सकसपूर्ण बनेको स्थानीय अनिल अग्रवाल बताउनुहन्छ ।
फुटपाथमा नै ढलेका विद्युत् पोल, झुन्डिएका बिजुली तथा इन्टरनेटका तार, सडकमा छरिएका असरल्ल तार, सडक किनारमा ढलेका अशोकका रुख र थुप्रिएका इँटा–रड तथा ढलानका टुक्राका कारण पैदलयात्रुहरू असहज रुपमा हिँड्न बाध्य छन् ।
सडक डिभिजन हेटौँडाको लापरवाहीका कारण बिरामी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूले उस्तै सास्ती खेप्नु परेको छ ।
कतिपय घरको सफाईमा लागेका निर्माण श्रमिकले सामान्य सुरक्षा संवेदनशीलतालाई पनि ख्याल नगरी काम गरिरहेको देखिन्छ भने कवाडी सामान टिप्नेले पनि धरापमा रहेका घरबाट हुने सुरक्षा चुनौतीलाई ख्याल राखेको पाइँदैन ।
घरको अगाडिको भाग मात्र भत्काइएकाले बाँकी संरचना कमजोर बनेकोले ती संरचना जुनसुकै बेला ढल्न सक्ने जोखिम रहेको छ । अझ कयौँ घर माटोको जडानबाट बनेको कारण धरापसँगै थप सुरक्षा जोखिम देखिन्छ ।
हेटौँडा उपमहानगरपालिकामा पर्ने राजमार्गका रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रबाट दायाँबाया २५–२५ गजभित्रमा घरटहरालगायतका हटाउन सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार पाँच सय घरमा शनिबार डोजर चलाइएको थियो ।
सर्वोच्च अदालतले शुक्रबार सडकको डिभिजनको सूचना जारी नगर्न आदेश दिएपनि शनिबार डोजर चलाएर आइतबार सडक चौडा गर्ने कार्य स्थगित गरेको छ ।

ताजा समाचार

Related Articles