नेपालगञ्ज, मङ्सिर २५ गते। । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टीलाई जागृत गर्न जनताको घरदैलोमा पुगिरहेको बताउनुभएको छ ।

नेपालगञ्जमा आज आयोजित नेपाली कम्युनिष्ट पार्टी बाँके जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले जनताको भावनासंग साक्षात्कार गर्न जनताको घरदैलोमा पुगिरहेको बताउनुभयो । उहाँले बदलिँदो परिस्थितिमा सही नीति लिएर नयाँ विश्वास जगाउन अघि बढेको बताउनुभयो । नेपालले अहिलेसम्म १६ कम्युनिष्ट दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको दाबी गर्नुभयो । पार्टीले समाजवादी सिद्धान्त बोकेर आफूलाई अघि बढाएको नेपालको भनाई छ ।

उहाँले नेपाली कम्युनिष्ट पाटी सबै वर्ग, लिङ्ग, समुदाय, नवयुवा पुस्ता समेतको पार्टी रहेको भन्दै जनताले चुनावमार्फत अनुमोदन गर्ने बताउनुभयो । सह–संयोजक नेपालले नयाँ नेपाल निर्माणको सङ्कल्पका साथ पार्टी निर्माण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताको बहुमत लिएर अघि बढ्ने उद्घोष गर्नुभयो ।

एकता सन्देश सभालाई केन्द्रीय कमिटी सदस्यहरू शक्तिबहादुर बस्नेत, अञ्जना चौधरीलगायतले सम्बोधन गर्नुभएको थियो ।




