खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २६ गते । चितवनका साहित्यकार एवम् पत्रकार वसन्त पराजुलीको ऐतिहासिक उपन्यास बखानमाथि परिचर्चा भएको छ । पराजुलीको यो तेस्रो कृति हो ।
नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार हेटौँडामा उपन्यास बखानको विषयबस्तु र विविध पक्षबारे परिचर्चा गरिएको हो ।
अग्रज साहित्यकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गर्दै सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिं गुरुङको जीवनी र त्यससँग सम्बन्धित रहेर ऐतिहासिक उपन्यास लेखिएको बताउनुभयो ।
बखानसिंह चितवनमा बस्ती बसाउन अगुवाइ गर्ने तथा चितवनमा नेपालकै पहिलो सहकारी बखान ऋण सहकारी संस्था स्थापना गर्ने व्यक्ति हुनुहुन्थ्यो । २००७ सालको जनक्रान्तिका एक योद्धासमेत रहनुभएका उहाँले सेनाको क्याप्टेन पदको जागिर छाडेर राणाविरोधी क्रान्तिमा होमिनुभएको थियो । क्रान्तिकै क्रममा दुई छोरासमेत गुमाउनुभएका गुरुङको जीवनका विविध सङ्घर्षमय क्षणहरूको रोचक चित्रणले उपन्यास जीवन्त बनेको समीक्षक निखिलको भनाइ छ । चित्रसेन बाबाको मन्दिरको कथा, सोमेश्वर गढी तथा त्यहाँ रहेको मन्दिरको कथा, उपरदाङ गढीको सन्दर्भ, देवघाटको प्राचीनताको कथा, चितवन राष्ट्रिय निकुञ्जको स्थापना र यहाँ राजपरिवार तथा विदेशीहरूले शिकारका नाममा गरेको जङ्गली जनावरहरूको सिकारको नृशंस कथा उपन्यासमा अनुसन्धानमूलक ढङ्गले समेटिएको निखिलले उपन्यास समीक्षाका क्रममा बताउनुभयो ।
त्यसैगरी २००७ सालको राणाविरोधी जनक्रान्ति, २०१७ सालमा राजा महेन्द्रले गरेको कु, त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा भएको सङ्घर्ष, पुलिमराङदेखि बन्दीपुरसम्मका तत्कालीन सन्दर्भ, चितवनमा बस्ती विकासका प्रारम्भिक दिनको कथा कलात्मक रूपमा बुनिएको भन्दै उपन्यास रुचिकर रहेको निखिलले बताउनुभयो । उपन्यासमा वर्णनात्मकता र विवरणात्मकता बढी भएका कारण साहित्यिक मिठास भने केही कम भएको महसुस हुने समीक्षक निखिलको टिप्पणी छ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उपन्यास मार्फत उपन्यासकार पराजुलीले आफ्नो जिल्ला चितवन र यहाँ रहेका विशिष्ट स्थान तथा ऐतिहासिक सन्दर्भहरूलाई चिनाउने प्रयास भएको भन्दै सहकारीकर्मी, राजनीतिकर्मीदेखि सबैका लागि उपन्यास पढनीय र सङ्ग्रहणीय रहेको बताउनुभयो । उपन्यासकार पराजुलीले उपन्यास लेखन सहज नभएको भन्दै आगामी संस्करणमा यसलाई अझै परिष्कृत बनाइने बताउनुभयो ।
पत्रकार बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई र पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारीले उपन्यासका विभिन्न आयामका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, महासंघ केन्द्रीय सदस्य नारायण अधिकारी, महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाललगायतको आतिथ्यता रहेको थियो ।



