सडक डिभिजनले धराप पारेका घरमा दैनिकजसो दुर्घटना, घरबाट खसेर एक घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २६ गते । सडक डिभिजनले धराप पारेर छाडेका घरमा सफाइ गर्ने क्रममा दैनिकजसो दुर्घटना हुने गरेको छ ।
शुक्रबार पनि हेटौँडा उपमहानगरपालिका २ स्थित घरमा सफाई गर्ने क्रममा एक जना निर्माण श्रमिक घरबाट खसेर घाइते भएका छन् । यसअघि बुधबार एक जना निर्माण श्रमिक सडक डिभिजनले धराप छाडेको घरमा सफाइ गर्ने क्रममा घरबाट झरेर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पनि घर सफाई गर्नेक्रममा घरबाट झरेर एक निर्माण श्रमिक घाइते भएको जनाएको छ ।
पर्सा जिल्ला कालिकामाई गाउँपालिका ९ जानकीटोलका द्वारिका यादव घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले १८ वर्षीय घाइते यादवको ढाँडको हड्डी फुस्केको जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते यादवको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ ।

यसअघि सडक डिभिजन हेटौँडाले धराप पारेर छाडेको घर सफाई गर्ने क्रममा
ढलान तल झरेर बुधबार निर्माण श्रमिक जितेन्द्र माझी घाइते हुनुभएको थियो ।
हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा सडक डिभिजन हेटौँडाले सडक चौडा गर्ने क्रममा डोजर चलाएर धराप बनाएका घरटहराका कारण सफाई श्रमिकदेखि पैदलयात्रुसम्मका लागि मुख्य बजार क्षेत्रमा सुरक्षा चुनौती बढेको छ ।
सडक डिभिजन, स्थानीय प्रशासन र हेटौँडा उपमहानगरपालिकाले सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दा श्रमिक घाइते हुने क्रमले निरन्तरता पाएको छ ।
रौतहट जिल्ला माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल हेटौँडा १० बुद्धचोकमा डेरा गरी बस्ने १९ वर्षीय घाइते माझीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
सडक चौडा गर्ने क्रममा सडक डिभिजन कार्यालयले मकवानपुर उद्योग वाणिज्य संघ अगाडि रहेको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा अधकल्चो अवस्थामा छाडेको एक घर सफा गर्दै गर्दा अचानक दुई तला माथिको ढलान तल झरेर घाइते हुनुभएका माझीको हेटौँडास्थित सञ्चो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles