मुलुकलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो

लोकप्रिय

काठमाडौं, मंसिर २७ गते । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने एक मात्र आधार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक अवस्थालाई संविधानभन्दा बाहिर जान नदिनका लागि संवैधानिक निकासको मार्ग भनेको निर्वाचन रहेको बताउनुभयो ।

कार्यवाहक सभापति खड्काले हाल सरकार गठन, प्रतिनिधिसभा विघटनलगायत सर्वोच्च अदालतमा विचाराधीन रहेका विषयलाई सर्वोच्चको क्षेत्राधिकारभित्र रहनदिनुपर्ने धारणा राख्नुभयो । उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरण निर्माण गर्नु सरकार र निर्वाचन आयोगको दायित्व रहेको बताउँदै यसमा सबै राजनीतिक दलले समन्वय र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

“निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने, नागरिकलाई ढुक्क भएर मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्ने जिम्मेवारी सरकारको हो । यसमा राजनीतिक दलले समन्वय गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै खड्काले प्रदर्शनको आवरणमा विभिन्न आपराधिक समूह कारागारबाट बाहिर निस्किएका, हजारौँ हातहतियार र लाखौँ गोली लुटिएका घटनाले नागरिकमा गम्भीर त्रास फैलिएको बताउनुभयो ।

लोकतान्त्रिक प्रणालीको मुख्य आधार निष्पक्ष र धाँधलीरहित आवधिक निर्वाचन भएको उल्लेख गर्दै कार्यवाहक सभापति खड्काले स्थापित राजनीतिक दलहरूलाई कमजोर पार्न खोज्ने शक्तिहरू सक्रिय हुनसक्ने भएकाले लोकतन्त्र ल्याउन र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका दलहरू आन्तरिक रूपमा एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताउनुभयो । पार्टी जुट्दा र फुट्दा दुवै अनुभव नेपाली काँग्रेसले भोगिसकेको उल्लेख गर्दै खड्काले बहुदलीय व्यवस्थामा दलहरू सुसङ्गठित, व्यवस्थित र जनप्रिय हुनु उत्तिकै आवश्यक रहेको धारणा राख्नुभयो । एमालेले ११औँ महाधिवेशनमार्फत पार्टीलाई थप परिष्कृत र समयसापेक्ष बनाउँदै सर्वसम्मत विधि प्रक्रियाबाट अनुभवी र सक्षम नेतृत्व चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

ताजा समाचार

Related Articles