काँक्रेविहार (सुर्खेत), मङ्सिर २७ गते । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताउनुभएको छ । आज यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उहाँले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र आज कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताउनुभयो ।

संयोजक दाहालले १४ भन्दा बढी पार्टी मिलेर विगतका कमजोरी सच्याउँदै अगाडि बढ्ने सङ्कल्प गरेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा भएका एकता सभामा देखिएको सहभागिताले अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास जागेको धारणा राख्नुभयो ।

उहाँले विसं २०४१÷४२ देखि नै पार्टी माधव नेपाल र आफूबीचमा एकताका लागि छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका सामयमा पनि निरन्तर छलफल भएको धारणा राख्नुभयो । संयोजक दाहालले भन्नुभयो,“हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ, सशस्त्र युद्ध सुरु भएको दुई वर्षदेखि नेपाल र आफूहरूले देशको विकास र नेपाललाई कसरी उचाइमा पुर्याउन सकिन्छ भनेर छलफलमा जुटका थियौँ । एमाले र माओवादी सहमति भएपछि मात्र देशमा १२ बुँदे सहमति भएको थियो । ४० वर्षदेखि एकताका काम भइरहेका थिए ।”




