काठमाडौँ, मङ्सिर २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११ औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन जित्नेमा ढुक्क देखिनुभएका ओलीले अध्यक्ष पदमा निरन्तरता दिने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो, “म अध्यक्षमा निर्विरोध हुन्छु होला ।” मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन सङ्कटमा रहेकाले त्यसको रक्षाका लागि पनि एमाले एकताको अपरिहार्यता भएको उहाँले बताउनुभयो । एमाले फुटेर होइन, जुटेर सङ्घर्ष गर्दा उपलब्धि हात लाग्ने उहाँको आग्रह छ ।

त्यसैगरी अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका पोखरेलले अध्यक्ष ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिनुभएको छ । पोखरेलले ओली ११ वर्ष पार्टी अध्यक्ष र छ वर्ष प्रधानमन्त्री भइसकेकाले अब गर्नुपर्ने नयाँ काम बाँकी नरहेको बताउनुभयो । “११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । छ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नुपर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन,” उहाँले भन्नुभयो, “अब ओलीले यो पार्टीको अभिभावक हुनु पर्छ भन्ने ठान्छु । आम रूपमा त्यही परिस्थिति छ ।” मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमालेको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ । “एमालेमा दुई कार्यकाल अध्यक्ष बनेर पटक पटक सरकारको नेतृत्व गर्नुभएको ओलीसँग प्रतिस्पर्धामा आउनुभएको पोखरेल एमालेमा अहिले भएकामध्ये सबैभन्दा लामो समय केन्द्रीय कमिटीमा बसेर काम गर्ने नेतामा पर्नुहुन्छ । उहाँ २०३२ सालदेखि २०८२ सालसम्म ५० वर्ष केन्द्रीय कमिटीमा बसेर काम गर्नुभएको छ । त्यसैले पोखरेललाई ओलीले सामान्य आक्नुभएको देखिँदैन,” राजनीतिक विश्लेषक रामप्रसाद शर्मा भन्नुहुन्छ ।

आफूतिर झुकाव राख्ने नेताहरू उता नजाऊन् भन्नेतर्फ सजग ओलीले केही महिनाअघि विधान अधिवेशनबाट पारित विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेस गरेर त्यसलाई महाधिवेशनको बन्दसत्रबाट पास गराइसक्नुभएको छ । बन्दसत्रअघि भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पोखरेल पक्षको असहमति भए पनि विधान संशोधन प्रस्तावलाई पारित गरेको छ ।

यसले अध्यक्ष ओली पक्षलाई टिकट बाँडफाँटमा सहज हुने भए पनि पोखरेलले पनि धेरैलाई टिकट दिन सक्ने स्थिति सिर्जना हुने स्वतन्त्र वामपन्थी विश्लेषक विदुर तिमल्सिनाले उल्लेख गर्नुभयो । बैठकले पार्टीको पुरानै विधान कायम राखेर अघि बढ्ने निर्णय गरेको र विधानको मूल मर्म नबदल्ने र संरचनागत पक्षमा मात्र समायोजन गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा ओलीलाई रोक्न सातै प्रदेशलाई समेटेर चुस्त टिम बनाउने गृहकार्यमा लागेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले उल्लेख गर्नुभयो ।




