चितवन, मड्सिर २९ गते। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई चितवनवासीले बिदाइ गरेका छन् । आज सौराहामा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटासहित संरक्षणकर्मीहरूले माला, अबिर लगाएर फलफूल खुवाएर हात्तीको बिदाइ गर्नुभयो । हात्तीलाई आज साँझ भैरहवाका लागि पठाइने छ भने पुस २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो विमानमार्फत कतार पठाइने छ ।

विदेश पठाउन लागिएका हात्तीमा सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद रहेका छन् । हात्तीसँगै माउतेहरू रुद्रकलीका बुद्धिलाल श्रेष्ठ र खगेन्द्रका पचुखाँ चौधरी एवं पशु स्वास्थ्य प्राविधिक दिनेश ढकालसमेत कतार जाने कार्यक्रम रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा पन्तका अनुसार दुवै जनाले कतारमा हात्तीको स्याहारसुसारका विषयमा त्यहाँका माउतेलाई तालिम दिएर फर्कने छन् । नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८१ कात्तिक २ गतेको निर्णयअनुसार हात्तीलाई कतार पठाउन लागिएको हो । कतारमा नेपालको वातावरण अनुकूलित हुने गरी प्राविधिकहरू गएर अध्ययन गरेपछि हात्ती पठाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

यी दुई हात्ती जन्मिएदेखि स्याहारसुसार गर्दै आउनुभएका हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरण चौधरी अहिले हात्ती विदेश पठाउन भनेपछि नरमाइलो महसुस भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुत्केरी हुँदादेखि स्याहारसुसार गरेर, तालिम गराएर निकुञ्ज पोष्टमा पठाइएको हो । माया लाग्छ । विदेश पठाउँदा नरमाइलो महसुस भइरहेको छ”, उहाँले भन्नुभयो, “माथिको आदेशअनुसार पठाउनुपर्यो । जे होस् राम्रो होस् भन्ने आफ्नो चाहना रहेको छ ।” रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले पनि विगत चार वर्षदेखि स्याहार हात्ती अर्को देश पठाउन लाग्दा दुःख लागेको बताउनुभयो । यहाँबाट बिदाइ गरिएका हात्तीलाई ट्रकमा राखेर भैरहवा विमानस्थल पुर्याइने छ । भैरहवामा एक कार्यक्रमको आयोजना गरी कतार दूतावासलाई हस्तान्तरण गरिने जनाइएको छ । कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हात्ती प्रजनन केन्द्रका प्रमुख चौधरीले जानकारी दिनुभयो ।

यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ । पन्तका अनुसार पहिलो पटक नेपालले हात्ती उपहारस्वरूप अन्य देशमा पठाउन लागेको हो ।




