खासकुरा संवाददाता
हेटौँडा, पुस १ गते । नेकपा (एमाले) को काठमाडौँमा जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा मकवानपुरबाट छ जना केन्द्रीय सदस्य पदका लागि प्रत्यासी बनेका छन् ।
मकवानपुरका कृष्ण प्रसाद दाहाल, रामेश्वर राना, भारती पाठक, महेश बर्तौला, एकालाल श्रेष्ठ र देवकृष्ण विकले केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्नुभएको हो ।
एमालेका पूर्व केन्द्रीय सदस्य राना बागमती खुलामा, बागमती प्रदेश सभा सदस्य श्रेष्ठ आदिवासी जनजाति खुला र अर्का
प्रदेश सभा सदस्य पाठकले महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । पूर्व संघीय सांसद बर्तौला र दाहाल खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवार हुनुहुन्छ ।
दलित युवा तर्फ देवकृष्ण विक (विश्वराज)ले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
दाहाल र विश्वकर्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बन्नुभएको छ ।
केन्द्रीय लेखा आयोगको सदस्यमा नवीन सिग्देल उम्मेदवार रहनुभएको छ ।
राना र पाठक यसअघि पनि केन्द्रीय सदस्य रहनुभएको थियो ।
राना, पाठक, श्रेष्ठ, बतौँला र सिग्देल ओलीको प्यानलमा उम्मेदवार बन्नुभएको हो ।
महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मङ्गलबार मतदान गर्ने तयारी गरिएको छ । मकवानपुरबाट महाधिवेशनका लागि १७ जना प्रतिनिधि भएर गएका छन् ।




