खासकुरा संवाददाता
हेटौँडा, पुस ३ गते । नेकपा (एमाले) को काठमाडौँमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मकवानपुरका चार जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
बिहीबार सार्वजनिक मत परिणाम अनुसार रामेश्वर राना, भारती पाठक, महेश बर्तौला र एकालाल श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा मकवानपुरबाट केन्द्रीय सदस्य पदका लागि छ जना प्रत्यासी बनेकोमा दुई जना पराजित हुनुभएको छ ।
मकवानपुरका कृष्ण प्रसाद दाहाल र देवकृष्ण विकन (विश्वराज) पराजित हुनुभएको छ । दाहालले ७०७ र देवकृष्णले २२९ मत प्राप्त गर्नुभएको थियो ।
दाहाल खुलातर्फ र दलित युवातर्फ देवकृष्णले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
रानाले एक हजार ४९८ मत, श्रेष्ठले एक हजार ५०९ मत, बर्तौलाले एक हजार ५२९ मत र पाठकले एक हजार ९१५ मत प्राप्त गर्नुभएको थियो ।
एमालेका राना बागमती खुलामा, बागमती प्रदेश सभाका प्रदेश सभा सदस्य श्रेष्ठ आदिवासी जनजाति खुला, प्रदेश सभा सदस्य पाठक महिलातर्फ र पूर्व संघीय सांसद बर्तौला खुलातर्फ निर्वाचित हुनुभएको छ ।
यस्तै केन्द्रीय लेखा आयोगको सदस्यमा नवीन सिग्देल विजयी बन्नुभएको छ । सिग्देलले एक हजार ६१४ मत प्राप्त गर्नुभएको छ ।
ईश्वर पोखरेल प्यानलबाट दाहाल र देवकृष्ण उम्मेदवार बन्नुभएको हो ।
राना, पाठक, श्रेष्ठ, बतौँला र सिग्देल ओलीको प्यानलमा उम्मेदवार बन्नुभएको थियो ।
मकवानपुरबाट महाधिवेशनका लागि १७ जना प्रतिनिधि रहेका थिए ।




