हेटौँडा, पुस ७ गते । सडक डिभिजन हेटौँडाको हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्रको राजमार्ग चौडा गर्न जारी गरेको सूचनाविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा दोस्रो पटक पनि सुनुवाइ भएन ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलाशमा आइतबारका लागि उक्त मुद्दाको पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि दोस्रो पटक पनि सुनुवाइ हुन नसकेको हो ।
यसअघि गत बुधबारका लागि सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएकोमा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो ।
हेटौँडा २ निवासी पूर्व सांसद विन्दवासिनी कंसाकारसमेत छ जना र महारत्न वज्राचार्यसेमत दुई जनाले दायर गर्नुभएको छुट्टाछुट्टै उक्त मुद्दामाथि सर्वोच्चको आइतबारको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर, उक्त इजलासले उक्त मुद्दा हेर्न नभ्याएपछि आइतबार सुनुवाइ रोकिएको हो ।

हेटौँडाको रातोमाटेदेखि सामरी पुल र बुद्ध चोकदेखि राप्ती पुलसम्म सडक केन्द्रबाट दायाँबायाँ २५/२५ गजभित्रका संरचना हटाएर सडक गर्न सडक डिभिजन हेटौँडाले जारी गरेको सूचनाविरुद्ध कंसाकारलगायतले गत मंसिर १६ गते र वज्रचार्यले पुस १ गते सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । निवेदकहरुले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपु¥याई संरचना हटाउन खोजिएको भन्दै उक्त सूचना कार्यान्वयन नगर्न प्रधानमन्त्रीको कार्यालय, डिभिजन सडक हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुरलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । स्थानीय प्रभावितले आफ्नो जग्गा र संरचनाको मुआब्जा र क्षतिपूर्ति माग गर्दै आएका छन् ।
उक्त रिटमाथि सुनुवाई गर्दै गत मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले निवेदकको माग बमोजिम तत्कालका लागि संरचना नहटाउन र यथास्थितिमा राख्न विपक्षीका नाममा ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो । अदालतले सडकको सूचना स्थगित गर्न भन्दै दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न बुधबारका लागि बोलाएको थियो ।

त्यस्तै, मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो । उक्त आदेश अनुसार पुस २ गते बुधबारका लागि पेसी तोकिएको थियो ।
यसअघि गत मङ्सिर १९ गतेको सर्वोच्चको सडक डिभिजनलाई सूचना स्थगित गर्न दिएको आदेश विपरीत २० गते ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी हेटौँडाका पाँच सय घरटहरालगायतका संरचनामा डोजर चलाएको थियो ।




