इच्छाकामनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

चितवन, पुस ७ गते । नेपाली सेनाको  नयाँ सबूज गणको आयोजनामा तथा इच्छाकामना गाउँपालिकाको समन्वय र कलेज अफ मेडिकल साइन्सेसको प्राविधिक सहकार्यमा चितवनको इच्छाकामना गाउँपालिका–७, गर्दासमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त शिविर सञ्चालन गरिएको हो।

स्वास्थ्य शिविरमा  मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी  विष्णु कुमार खड्का नं. ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी डा.  कमल बानियाँ,  नयाँ सबूज गणका गणपति प्रमुख सेनानी दिनेश लामा तथा इच्छाकामना गाउँपालिकाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो। शिविरमा कलेज अफ मेडिकल साइन्सेसका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा जनरल फिजिसियन, छाला तथा यौन रोग, दन्त रोग, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग, मधुमेह र बाल रोग सम्बन्धी निःशुल्क परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो।

बिरामीहरूको रोग पहिचानका लागि भिडियो एक्स–रे, इसिजी, मधुमेह तथा रक्तचाप परीक्षणजस्ता सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षण पश्चात आवश्यकताअनुसार बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो।

दुर्गम भेगमा बसोबास गर्ने तथा आर्थिक अवस्था र स्वास्थ्य सचेतनाको अभावका कारण समयमै उपचार पाउन नसकेका स्थानीय नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरबाट इच्छाकामना गाउँपालिकाका महिला १३९ जना, बालबालिका ७४ जना र पुरुष ६२ जना गरी उल्लेख्य संख्यामा स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्।

 

ताजा समाचार

Related Articles