खासकुरा संवाददाता
हेटौँडा, पुस ७ गते । नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिले कांग्रेस मकवानपुरका प्रथम सभापति स्वर्गीय सूर्यबहादुर डिम्डुङलाई सम्झिएको छ ।
कांग्रेस मकवानपुरको वर्तमान कार्यसमितिले संस्थापक सभापति डिम्डुङ सम्मान गर्दै हेटौँडा उपमहानगरपालिका २ स्थित पार्टी कार्यालय बिपी स्मृति भवन परिसरमा निर्माण गरिएको भवनलाई प्रजातान्त्रिक सेनानी एवम् नेपाली कांग्रेस मकवानपुरका प्रथम सभापति सूर्यबहादुर डिम्डुङ स्मृति भवन नामाकरण गरेको हो । 

उक्त स्मृति भवनको सोमबार कांग्रेस बागमती प्रदेश समितिका सभापति एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभयो ।
प्रतिबन्धितकालमा कांग्रेसका तत्कालीन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईले मकवानपुर जिल्लामा पार्टी सङ्गठन निर्माणसँगै प्रजातन्त्र पुनर्वहालीको आन्दोलनलाई प्रभावकारी बनाउने जिम्मेवारीसहित सभापतिमा मनोनयन गरी जिम्मा लगाउनु भएको थियो ।
प्रतिबन्धितकालको कठोर दिनसँगै प्रजातन्त्र प्राप्तिपछिको दिनहरुमा गरी एक दशकभन्दा बढी समय कांग्रेस मकवानपुरको सभापति भएर डिम्डुङ निरन्तर पार्टी सङ्गठन निर्माणमा जुट्नुभएको थियो ।
भवन उद्घाटन गर्दै प्रदेश सभापति बानियाँले कांग्रेसले सुझबुझबका साथ अहिलेको राजनीतिलाई सम्मालेर र सबैपक्षलाई समेटेर लैजान चाहेको बताउनुभयो ।
उहाँले नेपाली नागरिकको आ–आफ्नो आस्था र स्वतन्त्रता रहेको भन्दै लोकतन्त्रमा व्यक्ति र पार्टीको आस्था र विचारमाथि प्रहार स्वीकार्य नहुने बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले पछिल्लो समयमा प्रतिशोधको भावना मौलाउँदै गएको भन्दै व्यक्तिको आस्थामाथि प्रहार र निजी सम्पत्तिमा तोडफोड र आगजनीले लोकतन्त्रलाई संस्थागत र देशको विकास सम्भव नहुने बताउनुभयो ।
प्रतिशोधले समाजलाई अगाडि बढाउँदैन मुख्यमन्त्री बानियाँले भन्नुभयो, विचारको राजनीति आवश्यक छ ।
उहाँले जेनजीको मागप्रति सकारात्मक रहेको भन्दै कांग्रेसमा वैचारिक रुपमा पुनर्जीवनसँगै जिम्मेवारी ईमानदारीपूर्वक पूरा गर्ने सोचको विकास आवश्यक भएकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, कांग्रेस सम्माल्लिएर हिड्न र सबैलाई मिलाएर हिड्न चाहेको बताउनुभयो ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीका संस्थापक सभापति डिम्डुङको योगदानलाई चीरस्थायी बनाउन बिपी स्मृति भवन परिसरमा निर्माण गरिएको भवनलाई सूर्यबहादुर डिम्डुङ स्मृति भवन नामाकरण गरिएको बताउनुभयो ।
सभापति लामाले संस्थापक सभापति डिम्डुङले पार्टी सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको चर्चा गर्दै आफ्ना अग्रजहरुले गरेको योगदानको स्मरण र सम्मान गर्नु पछिल्लो पुस्ताको दायित्व भएको बताउनुभयो ।




