वीरगञ्ज, पुस ७ गते । । वीरगन्जसहित तराई–मधेसमा विगत एक सातादेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण स्कुले बालबालिका प्रभावित बनेसँगै वीरगन्ज महानगरपालिकाले आजबाट नगरभित्रका विद्यालयहरूमा पुस १३ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै पुस १३ गते आइतबार सम्म महानगर अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू बन्द रहने जनाएको छ । यो बिदा विद्यालयहरूको वार्षिक वर्षे र सट्टे बिदाबाट कट्टा हुने गरी मिलाइएको महानगरले जनाएको छ ।

विगत केही दिनदेखि लागेको बाक्लो हुस्सु र चल्न थालेको चिसो हावाका कारण वीरगन्ज र आसपासको क्षेत्रमा तापक्रम निकै घटेको छ । बिहानको समयमा अत्यधिक चिसो हुने भएकाले विद्यालय जाने बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै महानगरले यो कदम चालेको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले बताउनुभयो । चिसो मौसममा सतर्कता अपनाउन र बालबालिका तथा वृद्ध वृद्धाको विशेष ख्याल गर्न स्वास्थ्यकर्मीहरूले समेत सुझाव दिएका छन् ।




