खासकुरा संवाददाता
हेटौँडा, पुस ८ गते । सरकारले हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्रको राजमार्ग चौडा गर्न घर भत्काएपछि आन्दोलित बनेका घरजग्गा धनीले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
सडक डिभिजन हेटौँडाले गरेको गैर न्यायिक सडक विस्तारको विरोधमा काठमाडौँको माइतीघरमा मङ्गलबार घरजग्गा धनी विरोध प्रदर्शनमा उत्रिएका हुन् । घरधनी र अभियान्ताहरुले सांस्कृतिक बाजासहित सरकारसँग आफ्नो भत्काइएको घर माग्दै विरोध प्रदर्शन गरेका थिए । 

गत मङ्सिर २० गते शनिबार बिहान झिसमिसेमा नै सडक डिभिजनले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग क्षेत्रका घरमा डोजर चलाएको थियो ।
सडक डिभिजनले मङ्सिर ५ गते १५ दिने सूचना जारी गर्दै सडक केन्द्रबाट दायाँबायाँका २५–२५ गजभित्रका घरटहरालगायतका संरचना हटाउन भनेपछि स्थानीय बासिन्दा आन्दोलित बनेका थिए ।
स्थानीयले जग्गाको पुर्जा आफ्नो नाममा रहेका र राज्यलाई कर तिर्दै आएको भन्दै लामो समयदेखि मुआब्जा र क्षतिपूर्तिको माग गर्दै आएका छन् ।
सरकारले सडक विस्तारको नाममा डोजर लगाएर घर भत्काएपछि प्रभावित बनेकाहरुले विरोध प्रदर्शन गर्दै आफूहरु घरबारविहीन भएको जनाएका छन् । 

गैरन्यायिकरूपमा घर भत्काएर स्वयम् राज्यले सुकुम्बासी बनाएको भन्दै प्रदर्शनकारीहरुले जग्गाको मुआब्जा र घरटहरालगायतका संरचनाको क्षतिपूर्ति माग गरेका छन् । सो अवसरमा मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, अभियान्ता विद्या श्रेष्ठ, रमेशराज वज्राचार्यलगायतले भत्काइएका घर फिर्ताको माग गर्दै गैरन्यायिक सडक विस्तारको विरोध गर्नु भएको थियो । उहाँहरुले हामी अनागरिक हो भने सरकारले घोषणा गर्नु पर्ने नागरिक हो भने हाम्रो बसोबास र सम्पत्तिको सुरक्षा हुनुपर्ने बताउनुभयो । 




