कैलाशको गोपीराङका १० घरमा शौचालय बन्दै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ८ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० स्थित गोपीराङका १० घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बसोबास रहेको उक्त बस्तीमा सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयमा खुसी छाएको छ ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले मंगलबार लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै समय सीमाभित्र निर्माण गर्न आग्रह गर्नुभयो । राज्यले एक घर एक धाराको अवधारणा ल्याएसँगै उक्त अवधारणाको सूचकमा शौचालय र सरसफाई रहने अध्यक्ष मुक्तानको भनाई छ ।
जथाभावी दिशा पिसाबले विभिन्न रोग, पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालयमै दिशापिसाब गरिनुपर्ने सुझाउँदै उहाँले भन्नुभयो, गाउँपालिकाले छिट्टै सुरक्षित खानेपानीको लागि काम गर्नेछ ।
घरसँगै चर्पी निर्माण गर्नुपर्ने दायित्व तपाईकै हो किन निर्माण गर्नु भएन उहाँले प्रश्न गर्दै अब सधैं झाडी, खोल्सा खोला किनारको भर पर्नु हुन्न, दाताले लगानी गरेर दिनु भएको निर्माण सामाग्रीको सदुपयोग गरी हाम्रो लागि हो यो भनेर समयमै काम सक्न निर्देशन दिनुभयो ।

कार्यक्रममा वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोनले सरसफाइमा ध्यान दिन आग्रह गर्दै शौचालय निर्माणपछि बालबालिका र वयोवृद्धलाई सहजता रहने बताउनुभयो । ३५÷३६ घरधुरी छ, पहिलो चरणमा १० घरलाई शौचालय निर्माण गरिने, समयमै निर्माण सके दोस्रो चरणमा १० घरलाई शौचालय निर्माण समाग्री वितरण गरिने वडाध्यक्ष ब्लोनले बताउनुभयो ।
बाल विकास कार्यक्रम नेपालले पहिलो चरणमा १० घरधुरीलाई शौचालय निर्माणको लागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामाग्री सहयोग गरेको हो । यसअघि कैलाश ३ खिर्कीमा २० घरधुरीलाई आवश्यक सामाग्री हस्तान्तरण गरी निर्माण कार्य भइरहेको छ । हस्तान्तरण कार्यक्रममा बाल विकास कार्यक्रम नेपाल कार्यक्रम संयोजक कमल अर्याल, हरिबहादुर भण्डारी, सावित्री लामा, रामलाल स्याङ्बोलगायतको उपस्थिति रहेको थियो । संस्थाको लाभग्राहीसँगको सम्झौता अनुसार सामाग्री हस्तान्तरण गरेको २५ दिनभित्र निर्माण सम्पन्न गर्नुपर्ने जनाइएको छ । शौचालय निर्माणका लागि सिमेन्ट, रड, प्यान, जस्तापाता, बालुवालगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

ताजा समाचार

Related Articles