निर्मल माविको स्वर्ण महोत्सव सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ८ गते । हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित निर्मल माध्यामिक विद्यालय स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सव सुरुभएको छ ।
स्वर्ण महोत्सवको विद्यालय परिसरमा मङ्गलबार एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री बानियाँले भौतिक विकाससँगै शिक्षाको विकास आवश्यक भएको भन्दै प्रदेश सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

शिक्षालाई प्रविधिसँग जोड्न जरुरी रहेको सुझाउँदै उहाँले पछिल्लो समय शिक्षित बेरोजगारको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले प्रविधिसँग नजोडिएको शिक्षा अब काम नलाग्ने बताउनुभयो । निर्मल मावि र अरनिको माविका लागि बसको माग आएको भन्दै मुख्यमन्त्री बानियाँले बसको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे र बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले प्राविधिक शिक्षार्मा जोड दिन आग्रह गर्नुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष नरनाथ सुवेदी नवराजले सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउन वडा कार्यालयले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले विद्यालयको अवस्था र स्वर्ण महोत्सव कार्यक्रमको बारेमा जानकारी गराउनुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सुनिल लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको अध्यक्षतामा कार्यक्रम कार्यक्रममा बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्त चेपाङ, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालय गीत र वृत्तचित्र सार्वजनिकसँगै विद्यालयको अभिलेख झल्कने स्तम्भको अनावरण र निर्मल स्मारिका विमोचन गरिएको थियो ।
विद्यालय स्थापनाको ५० औँ वर्षलाई उत्सवको रुपमा पाँच दिनसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाइने विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले बताउनुभयो । महोत्सव अन्तर्गत यस्तै बुधबार पुरुष भलिबल प्रतियोगिताको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाबाट, जिल्ला स्तरीय शिक्षक नृत्य प्रतियोगिताको नगर उपप्रमुख राजेश बानियाँबाट, बिहीबार बृहत स्वास्थ्य शिविरको पूर्व सांसद महेशकुमार बर्तौलाबाट, शुक्रबार नगरस्तरीय विद्यार्थी नृत्य प्रतियोगिताको बागमती प्रदेशका पूर्वमन्त्री कुमारी मुक्तान उद्घाटन तथा शनिबार महोत्सवको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटाबाट समापन गर्ने कार्यक्रम रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीले महोत्सव अवधिभर विद्यालय परिसरमा खाना महोत्सवसमेत चल्ने जानकारी दिनुभयो ।
महोत्सव मूल आयोजक समितिका सदस्य सचिव वसन्त सिटौलाले महोत्सवका अवसरमा हाजिरी जवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, स्काउट मार्च पास प्रातियोगिता, पूर्वविद्यार्थी सम्मान, लोकदोहोरी कार्यक्रमलगायत अतिरिक्त कार्यक्रम हुने बताउनुभयो ।

 

ताजा समाचार

Related Articles