काठमाडौँ, पुस ९ गते । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने सहमति भएको छ । बुधवार साँझ राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दुवै पार्टीका शीर्ष नेताबीच भएको बैठकले पार्टी एकतामा जाने निर्णय गरेको हो । सहमतिले राजावादी तथा राष्ट्रवादी शक्तिहरूबीच रहेको विभाजन अन्त्य गर्दै एकीकृत रूपमा अघि बढ्ने आधार तयार भएको नेताहरूले बताएका छन् ।

बैठकले एकता सहमति पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको र सो सहमति पत्रमा अध्यक्षद्वय कमल थापा र राजेन्द्र लिङदेनले हस्ताक्षर गर्नुभएको छ । पार्टी एकताको औपचारिक घोषणा सभा पुस १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिने जनाइएको छ ।

सहमति पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले जेन–जी युवाहरूको आन्दोलनले नेपालको समग्र राजनीतिमा तरंग पैदा गरेको बताउनुभयो । उहाँले राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । अध्यक्ष थापाका अनुसार जेन–जी आन्दोलनले भ्रष्टाचारको अन्त्य र सुशासनको माग अघि सारेको छ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिले मात्रै पूरा गर्न सक्ने उहाँको भनाइ थियो । उहाँले सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा आउन आह्वानसमेत गर्नुभयो ।

२०७८ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडी राप्रपा नेपाल पुनर्जागरण गर्नुभएको थियो । त्यसयता दुवै पार्टी अलग–अलग रूपमा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजावादी शक्तिहरूको एकताले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ । यस एकताले राप्रपालाई थप सशक्त बनाउने र राष्ट्रिय एजेन्डामा एकीकृत आवाज उठाउन सहयोग पुग्ने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।




