हेटौँडा, पुस ९ गते । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा चार दिने सडक खाना महोत्सव हुने भएको छ ।
आयोजक मकवानपुर होटल एसोसियसनले बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरी १२ औँ सडक खाना महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा मकवानपुर होटल एसोसियसनका अध्यक्ष दिलिशगोविन्द जोशीले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनसँगै खानाका विभिन्न परिकारको प्रदर्शनी र बिक्री गर्न महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो ।

होटल एसोसियसनका महासचिव हरिगोपाल सापकोटाले महोत्सवमा विभिन्न समुदायको परम्परागत खानासँगै रैथाने बालीका खानाका परिकारका स्टल रहने बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको खेल मैदानबाट पूर्वतर्फको सडकमा यही पुस १३ गतेदेखि चार दिनसम्म महोत्सव सञ्चालन गरिने भएको हो ।
महोत्सवका पम्परागतदेखि आधुनिक विभिन्न खानाका परिकार, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको प्रस्तुति, लोककला र संस्कृतिको प्रदर्शनी गरिने भएको छ ।
करिब ६० वटा स्टल रहने महोत्सवमा करिब ८० लाख रुपियाँ बराबरको कारोबार हुने र ४० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।




