हेटौँडा, पुस ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको लगानीका बेवारिशे अवस्थामा योजना व्यवस्थापन र संरक्षणलाई प्राथमिकतामा काम गरिरहेको बताउनुभएको छ ।
मकवानपुरको थाहा नगरपालिका–९ मा निर्माण गरिएको चित्लाङ भ्यूटावरको बुधबार उद्घाटन गर्दै उहाँले प्रदेशको लगानीका पर्यटनलगायतका पूर्वाधारका योजनाहरु संरक्षण, व्यवस्थापन र सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिन सुरु गरिएको बताउनुभयो ।
चित्लाङ भ्यूटावरले थाहा नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउने भन्दै उहाँले पर्यटन क्षेत्रका पूर्वाधारहरु निर्माण गर्न सरकारले बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।

उहाँले आफू मुख्यमन्त्री भएर आएपछि प्रदेश सरकारको लगानीमा निर्माण भएर बेवारिशे अवस्थाका पूर्वाधार विकासका योजनाहरुको पहिचान गरी संरक्षण, व्यवस्थापन र सञ्चालन गर्न मन्त्रीहरुलाई निर्देशन दिएसँगै पर्यटन पूर्वाधारका संरचनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्न सुरुभएको बताउनुभयो ।
प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारले आन्तरिक एव बाह्य पर्यटकहरु आकर्षित गर्न पर्यटन क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिनुभयो ।
थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले थाहा नगरपालिका आन्तरिक एवं बाह्य पर्यटकहरुको गन्तव्य भएको भन्दै योजनाबद्ध विकास आवश्यक भएको जोड दिनुभयो ।
मन्त्रालयका सचिब दिपेन्द्र सुवेदीले प्रदेश सरकारले विभिन्न जिल्लाका पर्यटकीय सम्भावना भएका स्थानमा पर्यटन प्रवर्धनका लागि पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य जयराम लामिछाने, कांग्रेस थाहा नगर समितिका सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सदस्य इन्द्र श्रेष्ठलगायतले पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रचार प्रसार आवश्यकभएको बताउनुभयो ।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, पर्यटन कार्यालयका प्रमुख रोशन श्रीवास्तव, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपाली, थाहा नगरपालिकाका वडाध्यक्ष राजकुमार बलामी, हिरेन्द्र कुमार रायमाझी, राजनभक्त श्रेष्ठ, शिवराज थिङ, नारायण लामा , टिकाराम स्याङ्तान, पर्यटन विज्ञ रामहरी लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
चित्लाङ भ्युटावर सञ्चालनको जिम्मासहित प्रदेश सरकारले गत साता थाहा नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।




