मकवानपुर, पुस १० गते । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले श्रम, रोजगार र यातायात क्षेत्र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएको भन्दै सेवा प्रवाहमा कुनै पनि प्रकारको ढिलासुस्ती सह्य नहुने बताउनुभयो ।
मन्त्रालयले पहिलो चौमासिक अवधिमा सञ्चालन गरेका कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था, उपलब्धि तथा चुनौतीबारे हेटौँडामा भएको गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

आगामी कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गरिएको गोष्ठीमा मन्त्री थापाले मन्त्रालयका कार्यक्रमहरू कागजमै सीमित नभई प्रत्यक्ष रूपमा नागरिकले अनुभूति गर्ने हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशभित्र रोजगारीका अवसर सिर्जना, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने, श्रमिकको हकहित संरक्षण तथा यातायात सेवा सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको प्राथमिकता रहेको छ उहाँले भन्नुभयो, सवारी चालक अनुमति पत्र वितरण प्रणाली, ट्रायल सेन्टरको व्यवस्थापन, सार्वजनिक यातायातको नियमन तथा श्रम बजार व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालय सक्रिय रूपमा काम गरिरहेको छ ।

गोष्ठीमा बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले मन्त्रालयका कार्यक्रमहरू परिणाममुखी र मापनयोग्य हुनुपर्ने भन्दै बजेट खर्चसँगै त्यसको प्रभाव नागरिकस्तरमा देखिनुपर्नेमा जोड दिनुभयो ।
कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिँदै उहाँले कर्मचारीको कार्यदक्षता, पारदर्शिता र जवाफदेहिता बढाएर मात्र प्रदेश सरकारप्रति जनविश्वास बढाउन सकिने बताउनुभयो ।
मन्त्रालयका सचिव रामबाबु पुरीले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव, प्राविधिक जनशक्ति कमी र प्रक्रियागत जटिलता मन्त्रालयका मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो ।
ती चुनौती समाधानका लागि अनुगमन प्रणालीलाई सुदृढ बनाइने, कार्यालयबीच समन्वय बढाइने र सेवाग्राहीमैत्री कार्यशैली अपनाइने उहाँको भनाई छ ।
गोष्ठीमा मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयका कार्यालय प्रमुखहरूले सेवा प्रवाहमा देखिएका समस्या, नीति कार्यान्वयनका चुनौती र सुधारका उपायबारे सुझाव राख्नुभएको थियो ।




