काठमाडौँ, पुस ११ गते । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग शुक्रबार छलफल सुरु गरेको हो । सरकारले प्रमुख तीन दलका शिर्ष नेतासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिवद्धता जनाउने प्रयास गरेको छ । भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ ।

सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको महाराजगञ्जस्थित निवासमा छलफल गर्नुभएको छ । सो अवसरमा कांग्रेसका सभापति देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभयो ।
मन्त्री खरेलको सचिवालयका अनुसार उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्नुभयो ।
भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले छुट्टै भेट गर्नुभएको हो ।
हाल ओलीमाथि जेन–जी आन्दोलनको छानबिन आयोगले लगाएको काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्धको विषय पनि छलफलमा उठेको छ ।

यसअघि सरकारको टोलीले एमालेको च्यासलस्थित केन्द्रिय कार्यालय निरीक्षण गर्दा पनि निर्वाचनमा सहभागिता र प्रतिबन्धमा लचकता अपनाउने विषयमा सकारात्मक संकेत दिएको थियो । एमालेले निर्वाचनमा सहभागी हुने वातावरण बनेमा भाग लिने प्रतिवद्धता जनाएको छ । सरकारले यो भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासको रूपमा लिएको जनाएको छ । यो भेटले तत्कालीन राजनीतिक तनाव कम गर्ने र निर्वाचन प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।
सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले शुक्रवार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभयो ।
भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबिच सहमति कायम गर्ने विषयमा कुराकानी भएको छ ।
प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ ।




