काठमाडौँ, पुस ११ गते । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।
नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका समेत सम्हाल्नुभएको थियो । संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारी समेत सम्हालिसक्नुभएका उहाँ हाल प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष हुनुहुन्छ ।




