खासकुरा संवाददाता
हेटौँडा, पुस १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) बीच बृहत एकतासम्बन्धी सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने गरी सहमति भएको हो ।
आइतबार भएको सात बुँदे सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गर्नुभएको छ ।

सहमितपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टीनै रहने भएको छ ।
नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धता सहमतिपत्रमा उल्लेख छ ।
त्यस्तै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने सहमति गरिएको छ ।

बृहत एकतापछि राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ ।
बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने सहमति दुवै पक्षबिच भएको छ ।
यो सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने छ । 




