बिपीको राष्ट्रिय मेलमिलाप

लोकप्रिय

–जयप्रकाश आनन्द
             विश्वेश्वर प्रसाद कोईरालाका कतिपय विचारहरू आज अनर्थ हुने गरी गलत उद्धरणका रूपमा प्रयोग गरिँदै आएका छन्। राजतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता जस्ता संवेदनशील विषयहरू, साथै राष्ट्रिय एकता र मेलमिलापको कार्यनीतिका सन्दर्भमा विशेषतः बीपीको मनशायभन्दा भिन्न ढंगले उनका भनाइहरू प्रस्तुत गरिने गरिएको देखिन्छ। हिजोका दुर्दान्त मण्डलेहरू, आज तिनकै रूपान्तरित चरित्रहरू, र सदा बीपीका विरोधी रहेका कम्युनिष्टहरूले समेत यस्ता विषयमा बेला–बेलामा उपदेश दिन छुटाएका छैनन्।
प्रायः यी उपदेशहरू राजतन्त्र, राष्ट्रियता, भारत–विरोध र मेलमिलापका सन्दर्भमा केन्द्रित हुन्छन्। उदाहरणका लागि, बीपीकालीन चुनावी घोषणापत्रका सन्दर्भविहीन अंशहरू कोट्याइन्छन्— “राजाको घाँटी र मेरो घाँटी संगै जोडिएको छ” भन्ने प्रसंग, “प्रजातन्त्र बिना देश रहँदैन, राजा पनि रहँदैनन्” भन्ने भनाइ, र मेलमिलाप नीतिका मनगढन्त व्याख्याहरूलाई यथार्थभन्दा टाढा तानेर प्रस्तुत गरिन्छ।
वास्तवमा बीपीका विचारहरू सम्पूर्ण रूपमा कहिल्यै पनि कुनै एउटै घोषणापत्र वा कुनै एक पुस्तकमा सीमित छैनन्—न त २००७ सालको क्रान्तिकालमा, न त २०१५ सालको आम निर्वाचनमा। नेपाली काँग्रेसको विधानलाई पनि यही सन्दर्भमा बुझ्नुपर्छ। यस्ता दस्तावेजहरू सधैँ विभिन्न नेता र विचारधाराहरूको समिश्रणका रूपमा पारित हुन्छन्। तर बीपी स्वयं गहिरा राष्ट्रिय सवालहरूमा दार्शनिक दृष्टिकोण राख्ने नेता थिए।
व्यक्तिगत रूपमा बीपी जीवनभर राजतन्त्र, धार्मिक राज्य, वा संशोधित प्रजातन्त्र (Model Democracy) को पक्षमा दृढ रूपमा उभिनु भएन। राजतन्त्र, धर्म र प्रजातन्त्रबारे उनका साहित्यिक कृतिहरू अध्ययन गर्दा यो तथ्य स्पष्ट हुन्छ। धेरैले बीपीको ‘राजतन्त्र’ शीर्षकको लेखसमेत पढेका छैनन्, जहाँ उनले नेपाली समाजमा राजतन्त्रको वैचारिक आधारमै प्रश्न उठाएका छन्। सन् १९६८ मा वाराणसीमा आयोजित सम्मेलनमा ‘Asian Challenge and Gandhism’ विषयमा बोल्दै उनले आफूलाई राजतन्त्रको प्रखर आलोचकका रूपमा प्रस्तुत गरेका थिए।
शिवरात्रीका दिन पशुपतिनाथमा एक जर्मन पत्रकारसँग कुरा गर्दै बीपीले भनेका थिए— “म निजी रूपमा धर्म मान्दिनँ। तर पूर्वदेखि पश्चिमसम्मबाट पैदल हिँडेर यहाँ पूजा गर्न आएका मानिसहरूको आस्था म बदल्न सक्दिनँ।” आजका दिनमा यो तथ्य धेरैलाई सम्झना नहुन सक्छ। नेपालको सन्दर्भमा धर्मनिरपेक्षता उपयुक्त नहुन सक्छ भन्ने बहस अलग विषय हो, तर धर्मनिरपेक्षता बीपीको निजी सोच थियो भन्नेमा शंका छैन।
राष्ट्रिय एकता र मेलमिलापको सन्दर्भमा बीपीको स्वदेश आगमनलाई कतिपयले तत्कालीन भारतमा इन्दिरा गान्धीको ‘नेपाल हडप्ने योजना’ अस्वीकार गरेको साहसी कदमका रूपमा व्याख्या गर्ने गरेका छन्। “मर्नु परे पनि नेपालमै मर्ने” भन्ने भनाइलाई आजको संकुचित र बजारू राष्ट्रवादसँग जोड्ने प्रयास पनि देखिन्छ। तर मेलमिलापको नीति वस्तुतः बीपीको एउटा loud thinking थियो, जसलाई १९७० को दशकअन्त्यतिरको शीतयुद्धकालीन विश्व राजनीतिक सन्दर्भमा मात्र बुझ्न सकिन्छ।
त्यसबेला अमेरिका आफ्ना हितका लागि विश्वका धेरै मुलुकमा तानाशाही शासनलाई संरक्षण गर्दै आएको थियो भने सोभियत संघ प्रजातान्त्रिक मुलुकहरूमा कम्युनिष्ट सहयोगमार्फत सत्ता विस्तार गर्ने रणनीतिमा थियो। अफगानिस्तानमाथिको सोभियत कब्जाले दक्षिण एसियाली मुलुकहरूको स्वतन्त्रता जोखिममा परेको बीपीको बुझाइ थियो। यही सन्दर्भमा राजा महेन्द्र सरह नै राजा वीरेन्द्र पनि कम्युनिष्ट प्रभावमा पर्न सक्ने र त्यसले नेपालको स्वतन्त्रतामै खतरा निम्त्याउने बीपीको आँकलन थियो। यसै कारण राजालाई सहमत गराएर मुलुकलाई प्रजातान्त्रिक दिशातर्फ डोर्याउनु उनको दृष्टिकोण थियो। मेलमिलाप नीतिको सार पनि यही—शीतयुद्धको प्रभावबाट नेपाली राष्ट्रियतालाई जोगाउन राष्ट्रिय शक्तिहरूबीच सहकार्य।
आज बीपीको मेलमिलाप नीतिलाई जथाभावी, सर्वकालिक र सर्वव्यापी समाधानका रूपमा प्रयोग गरिँदैछ। जहाजमा प्राविधिक खराबी आयो भने पाइलटले जस्तोसुकै उपाय अपनाएर समाधान खोजेझैँ, हरेक समस्याको उत्तर बीपीको मेलमिलापबाट निकाल्ने प्रवृत्ति देखिन्छ। रोजगारी, आयवृद्धि, शिक्षा, जनस्वास्थ्य, समावेशीकरण—यी आधारभूत जनचाहनाका समाधानलाई त्यही सोचबाट तान्ने प्रयास दिशाहीनता हो; बीपीप्रतिको आस्था होइन।
यही सन्दर्भमा म स्वयं उपस्थित रहेको एउटा रोचक र अर्थपूर्ण ऐतिहासिक प्रसंग स्मरणीय छ।
परशु नारायण चौधरी चार–पाँच दिनअघि मात्र पंचायत प्रणालीमा प्रवेश गरेका थिए। आफ्ना केही साथीहरूसँग मिलेर उनले निकालेको वक्तव्यको शीर्षक थियो—“अबको नयाँ बाटो”। जनमत संग्रहताकाको प्रचारका क्रममा बीपीले “बहुदल आए परशु नारायण नेपालको प्रधानमन्त्री हुनेछन्” भन्नुभएको थियो। त्यस्तो व्यक्तित्व अचानक पंचायत पसेपछि बीपीको मानवीय छनोट क्षमतामाथि पनि प्रश्न उठेको थियो।
तर परशु नारायणको पलायनप्रति बीपीको प्रतिक्रिया जोशिलो वा आक्रामक थिएन। उनले भनेका थिए—
“नेपाली जनताले जुन कारणले परशु नारायण चौधरीलाई माया गरेका थिए, त्यो कारण अब रहेन।”
आजको जस्तो तथानाम गाली–गलौज उनले गरेनन्। न त भित्रभित्रै कुनै सौदाबाजी भयो कि भन्ने आशंकालाई उनले मलजल गरे। डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वर सिंह—यस्ता नामहरूको सूची लामै थियो, जो कुनै समय बीपीका अत्यन्त नजिक थिए। सहकर्मीको छनोटमा बीपी बढी उदार थिए कि बढी विश्वासिला—यसबारे त्यतिबेला पनि चर्चा चल्थ्यो।
सन् १९७७ नोभेम्बरमा उपचारपछि अमेरिकाबाट फर्किँदा बीपीले परशु नारायण चौधरी र गिरिजा प्रसाद कोइरालालाई एकै पटक, पटना–काठमाडौँ उडानमै, प्रतिबन्धित नेपाली काँग्रेसको महामन्त्री नियुक्त गरेका थिए। यो आफैँमा एउटा रोचक ऐतिहासिक प्रसंग हो। एकै समयमा दुई महामन्त्री—शायद यो कुरा गिरिजा बाबुलाई त्यति रुचिकर लागेको थिएन।
त्यस साँझ चावहिल मित्रपार्कस्थित बीपी निवासमा शेख इद्रिस पनि उपस्थित थिए। परशु नारायणको पलायनपछि उनले बीपीप्रति दरो भरोसा व्यक्त गरेका थिए। खाना सकिँदै गर्दा, बीपी खीर खान रमाइरहनु भएको बेला, चक्र बास्तोलाले प्रश्न उठाइहाले। गिरिजा बाबुको पनि चासो त्यही विषयमा भएकाले उनले चक्रजीलाई प्रश्न दोहोर्याउन आग्रह गरे।
चक्रजी सधैँ बीपीसँग निर्भीक भएर बोल्ने व्यक्ति थिए। उनले सोधे—“सान्दाजु, परशु नारायणलाई त तपाईंले निकै पत्याउनु भएको थियो। उनले धोका दिए। तपाईंलाई शंका थिएन ?”
बीपीले चक्रजीभन्दा बढी गिरिजा बाबुतर्फ हेर्दै सोध्नुभयो—“गिरिजा, तिम्रो सम्बन्ध कुनै सहयोगीसँग विश्वासबाट सुरु हुन्छ कि आशंकाबाट ?” गिरिजा बाबुले संकोचपूर्वक जवाफ दिए—“म लामो समय मानिसको परख गर्छु। सुरुमा त शंका गरिरहन्छु।”
त्यसपछि बीपीले ओखलढुंगा काण्ड, नख्खु कारागार, र पुराना सहकर्मीहरूको प्रसंग उठाउँदै एउटा गहिरो प्रश्न तेर्स्याउनुभयो।
अन्त्यमा बीपीले भने—
“म त विश्वासलाई नै आधार मान्छु। पत्यार, अपत्यार, भरोसा र धोका—यी चिरस्थायी हुँदैनन्। मानिसको सोच तत्कालीन परिस्थितिले निर्धारण गर्छ। र त्यो परिस्थितिलाई उसले कति इमानदारी, कति लोभ, कति धैर्य र कति निस्पृहता साथ सामना गर्छ—त्यसले उसको बाटो तय गर्छ।”
सबैले खीर सकिसकेका थिए। वातावरण शान्त थियो। तर यो संवादले, बीपी बाहेक हामी सबैलाई, गहिरो रूपमा उद्वेलित बनाएको थियो।
त्यतिबेला मेरो उमेर नेताको विचारमाथि प्रश्न उठाउने खालको थिएन। तर बीपीले दिनुभएको यो उत्तर मेरो लागि आज पनि प्रश्नरहित छ। हो—सम्बन्ध सधैँ सुरुको विश्वास वा आशंकाले तय हुँदैन। मानिस कहाँ पुग्छ, कहाँ चुक्छ—त्यो समयले देखाउँछ।
तर ज्ञान भने, यदि सत्यमा आधारित छ भने, सर्वकालिक नै हुन्छ।                                                      (जयप्रकाश आनन्दले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा लेख्नुभएको आलेख । उहाँको सामाजिक सञ्जाल फेसबुकबाट साभार ।)
(तस्वीरमा उभिएका क्रमशः बायाँबाट जीवन साह, उमेश बिद्रोही, जेपी आनन्द, सुरेश चालिसे, बिनोद दत्त, शिवध्वज बस्नेत, राम गुप्ता, रंजीत जैन। बसेका क्रमशः बाँयाबाट परशु नारायण चौधरी, बीपी कोईराला तथा कृष्ण प्रसाद भट्टराई। बिस २०३८ साल)

ताजा समाचार

Related Articles