महामन्त्रीद्वयको वक्तव्यः काङ्ग्रेसको नियमित महाधिवेशन स्थगित

लोकप्रिय

काठमाडौँ, पुस १७ गते। नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित भएको छ। नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य सार्वजनिक गर्नुहुँदै नियमित महाधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो। वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ।’

महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएकोसमेत जानकारी गराइएको छ।  खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान महामन्त्रीद्वयको छ।

वक्तव्य मार्फत् महामन्त्रीद्वयले विशेष महाधिवेशन सम्बन्धी वैधानिक दायित्व भएको प्रष्ट पार्नुभएको छ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ’, महामन्त्रीद्वयको वक्तव्यमा थप भनिएको छ, ‘पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो। उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ।’ 

ताजा समाचार

Related Articles